पर्वत– भदौ एक गतेबाट लागू भएको नयाँ मुलुकी संहितामा पुरुषले पनि सम्बन्ध विच्छेद गर्न पाउने सजिलो प्रावधान भएपछि यहाँ त्यसको प्रभाव देखिन थालेको छ । श्रीमानले चाहेमा पनि सम्बन्ध विच्छेदका लागि कानुनले मान्यता दिने भएपछि जिल्लाका पत्नीपीडित पतिहरु धमाधम मुद्दा दायर गर्न थालेका छन् ।


ADVERTISEMENT


नयाँ मुलुकी संहिता लागू भएपछि सम्बन्ध विच्छेद गर्न भन्दै भदौ ६ गते सम्ममा पाँचजना पुरुषले उजुरी दर्ता गराइसकेको जिल्ला अदालत पर्वतका न्यायाधीश ध्रुवबहादुर थापा बताउँछन् । उनले भने, ‘पुरुषहरूलाई पनि सम्बन्ध विच्छेदका लागि सोझै अदालत जान सक्ने सुविधा नयाँ कानुनले दिएको छ, यसले वर्षौ‌देखि सहेर बसिरहेका पुरुषहरुलार्इ सम्बन्ध विच्छेदका लागि सहज बनाइदिएको छ ।’


ADVERTISEMENT

# # #


जिल्ला अदालत पर्वतमा नयाँ मुलुकी ऐन लागू भएको पहिलो दिन भदौ १ गते नै एकजना पुरुषद्वारा सम्बन्ध विच्छेद गराई पाउँ भनी मुद्दा दर्ता भएको थियो । यसरी मुद्दा दायर गरेका पुरुषहरूले श्रीमती साथमा नबसेको, यातना दिने गरेको, कमाएको पैसा दुरुपयोग गरेकोलगायत कारण खुलाएको न्यायाधीश थापाले जानकारी दिए ।

यसअघिको मुलुकी एेनमा महिलाले सोझै अदालतमा सम्बन्ध विच्छेदको मुद्दा दायर गर्न सकिने व्यवस्था भए पनि पुरुषका लागि भने सोझै मुद्दा दिन नपाउने तथा घुमाउरो र लामो प्रक्रिया अपनाउनुपर्ने प्रावधान थियो । नयाँ कानुन लागू भएसँगै सम्बन्ध विच्छेदका मुद्दा झन बढ्न थालेको कानुन व्यवसायीहरु बताउँछन् ।