काठमाडौं–प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको कडा आलोचना गरेका छन् ।


ADVERTISEMENT


प्रतिनिधिसभाको आईतबारको बैठकमा विशेष समय लिएर बोल्दै सभापति देउवाले महिला र बालबालिकामाथि हत्या, हिंसा, बलात्कारलगायतका घटना बढिरहँदा पनि राज्य निरिह देखिएकोमा आपत्ति जनाउँदै सरकारको चर्को आलोचना गरेका हुन् ।


ADVERTISEMENT

# # #


प्रमुख प्रतिपक्ष दलका नेता समेत रहेका उनले बलात्कारसहितका जघन्य अपराधबाट मुक्तिका लागि न्याय माग्न जाँदा राज्यले उल्टै गोली हानेर मार्ने काम गरेको भन्दै सरकारको सो कार्यको कडा शब्दमा निन्दा र भत्सर्ना पनि गरे ।

कञ्चनपुरमा किशोरी निर्मला पन्तको हत्यारालाई पक्राउ गरी कार्वाही गर्न माग गर्दै भएको हिंसात्मक घटनामा प्रहरीले गोली चलाउँदा एक जना बालकको ज्यान गएको थियो । राज्य पक्षबाटै बालकको ज्यान लिने काम भएकोमा सभापति देउवाको रोष छ ।

‘न्याय माग्दा जनताका छोराले मर्नुपर्ने कस्तो लोकतन्त्रको अभ्यास गराइरहनुभएको छ ?’ देउवाले भने।

देउवाले कञ्चनपुर घटनाका सम्बन्धमा बोल्दै भने,‘ निर्मला पन्त हत्या प्रकरणमा राज्यले संयमता अपनाउन नसक्दा प्रहरीको गोलीबाट अर्का बालकको मृत्यु भयो, कैयौँ घाइते भएका छन्, सरकारको यस्तो दमनकारी शैलीको म घोर निन्दा र भत्र्सना गर्न चाहन्छु, देउवाले भने ‘एक बालिकाका लागि न्याय माग्दा अर्को बालकले मारिनुपर्ने यो कस्तो लोकतन्त्रको अभ्यास गराउँदैहुनुहुन्छ प्रधानमन्त्रीजीले ?’

उनले अपराधी जोगाउन राज्य नै लागेको बताउँदै जनताले अब न्याय माग्न कहाँ जाने ? भन्दै प्रश्न गरे ।

‘दोषीलाई जोगाउन राज्य नै लाग्दैछ, अब जनताले न्याय माग्न कहाँ जाने ? अपराधलाई जोगाउन खोज्नु पनि अपराध हो । निर्दोषलाई दोषीका रुपमा किटानी गरेर कारबाही प्रक्रिया अगाडि बढाएको विषय अपराधको पराकाष्ठा नै हो । म यसमा गम्भीर बन्न सरकारलाई आग्रह गर्छु’ देउवाले भने ।

उनले निर्मला पन्त मुलुकका लागि एक प्रतिनिधि पात्र मात्रै भएको बताउँदै यस्ता घटना रोक्न सबैले हातेमालो गर्नुपर्ने बताए।

‘निर्मला पन्त त एक प्रतिनिधि पात्र मात्रै बनेकी हुन्, बलात्कार पश्चात अबोध बालिकाको हत्या निन्दनीय मात्र होइन, जघन्य अपराध हो । देशका विभिन्न भागमा यहि प्रकृतिका घटना बढेका विवरण आइरहेका छन् । किन घटिरहेका यस्ता घटना ? यसलाई कसरी रोक्न सकिन्छ ?’