इलाम– इलाम र झापाको सीमावर्ती क्षेत्र राँके बजारमा गए राति आगलागी हुँदा करीब रु दुई करोड बराबरको धनमाल क्षति भएको छ ।
देउमाई नगरपालिका–१ का स्थानीय ठालुराम श्रेष्ठको तीनवटा सटरसहितका घर जल्दा सो मूल्य बराबरको धनमाल क्षति भएको हो ।


ADVERTISEMENT


बेलुका शुरु भएको आगलागी ११ बजे पाँचथरको फिदिम नगरपालिकाबाट आएको दमकलले नियन्त्रणमा लिएको थियो । दमकलसहित स्थानीय बासिन्दा र सुरक्षाकर्मीसमेतको प्रयासमा आगलागी नियन्त्रणमा लिइएको थियो । आगलागीबाट राँके बजार व्यवस्थापन समितिका अध्यक्षसमेत रहनुभएका श्रीबहादुर विष्टको जुत्ताचप्पल र शृङ्गार सामग्री पसल र तिलविक्रम बस्नेतको खाद्यान्न एवं किराना पसल जलेर पूर्णरुपमा नष्ट भएको बताइएको छ ।


ADVERTISEMENT

# # #


आगलागीमा दुईवटा एलपी ग्यास पड्किएको स्थानीय बासिन्दाले बताए । पानी परेकाले पनि आगलागी नियन्त्रणमा सहज भएको स्थानीयबासीको भनाइ थियो । आगो नियन्त्रणका लागि आएको इलाम नगरपालिकाको दमकल मेची राजमार्गको पुवाखोलामाथि मिलगोलाई भन्ने स्थानमा बिग्रिएर जान सकेन । आगलागीबाट भएको क्षतिको एकिन विवरण आइनसकेको र मानवीय क्षति पनि नभएको स्थानीय प्रहरीले जनाएको छ । मेची राजमार्गसँगै जोडिएको उक्त बजारमा करीब दुई वर्ष अगाडि आगलागी हुँदा केही घर जलेर नष्ट भएका थिए ।