काठमाडौँ– नेपाली काँग्रेसले दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि शुक्रबारसम्म तीन प्रदेशको उम्मेदवारी टुङ्गो लगाउने भएको छ ।


ADVERTISEMENT


काँग्रेस केन्द्रीय कार्यालय सानेपामा आज बिहान बसेको पदाधिकारी तथा पूर्व पदाधिकारीहरुको बैठकले अधिकांश जिल्लाको उम्मेदवार टुङ्गो लगाए पनि प्रदेश नं १, ५ र ७ को भोलिसम्म टुङ्गो लगाउने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनले गुल्मी, नवलपरासी, ओखलढुङ्गा, सङ्खुवासभालगायतका अधिकांश जिल्लाको टुङ्गो लगाएको र भोलि बस्ने बैठकले सबै उम्मेदवार टुङ्ग्याउने बताए । २ नं प्रदेशको भने केही समय लाग्ने उनले जानकारी दिए ।


ADVERTISEMENT

# # #


काँग्रेसले सो निर्वाचनका लागि क्षेत्रीय कार्यसमितिलाई क्षेत्रअन्तर्गतका नगरपालिका र गाउँपालिकाका उम्मेदवार टुङ्ग्याउने अधिकार दिएको छ । क्षेत्रले उम्मेदवार चयन गर्न नसकेमा जिल्ला कार्यसमितिले गर्ने र जिल्ला समितिले पनि नसकेमा केन्द्रीय कार्यसमितिमा पठाउने व्यवस्था छ ।

बैठकमा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशाङ्क कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, पूर्व महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला, नेता डा रामशरण महत, डा प्रकाशशरण महत, अर्जुननरसिंह केसी, रमेश लेखकलगायतको उपस्थिति थियो ।