काठमाडौँ– भारतमा जारी चौकाणात्मक एकदिवसीय यु–१९ सिरिज अन्तर्गत भारत यू १९ ‘बी’संग नेपाल यु–१९ ४० रनले पराजित भएको छ ।


ADVERTISEMENT


भारतको लखनउस्थित एकना अन्तराष्ट्रिय मैदान ‘बी’मा १६२ रनको सामान्य लक्ष्य पाएको नेपालको ब्याटिङ चल्न नसक्दा पराजित भएको हो । नेपालले ४१.३ ओभरमा सबै विकेट गुमाउँदै १२१ रनमात्रै बनाउन सक्यो ।


ADVERTISEMENT

# # #


यसअघि टस हारेर ब्याटिङ थालेको भारत यु–१९ ‘बी’ ले ४९ ओभरमा सबै विकेट गुमाउँदै १६१ रन मात्रै बनाउन सक्यो । उसका लागि ओपनर ब्याट्समेन क्वामरन इक्वालले ५० रन बनाउनु बाहेक अन्यले राम्रो खेल्न सकेनन् ।

पवन सर्राफको बलमा बोल्ड हुनुअघि उनले ५६ बलमा ५ चौका र २ छक्का प्रहार गरेका थिए । यस्तै रिसभ चौहानले १९ रन बनाउँदा कप्तान भेदान्छ मुर्कार, सहिल राज, सुभाङ्ग हेग्देले समान १२/१२ रन बनाए ।

यता नेपालका लागि कमल सिंह ऐरीले ३ तथा पवन सर्राफले २ विकेट लिए । यस्तै सागर ढकाल, किशोर महतो र सम्साद आलमले समान १/१ विकेट लिए ।

यता १६२ रनको चुनौति पच्छ्याएको नेपालका लागि भीम सार्कीले सर्वाधिक ३० रन बनाए । यस्तै कप्तान आशिफ सेखले १७ रन बनाउँदा आठौँ नम्बरमा आएका कमलसिंह ऐरीले २ छक्कासहित २२ रन बनाए । पवन सर्राफले १२ रन बनाए भने अन्यले दोहोरो अंक छुन सकेनन् ।

भारत यू १९ बीका लागि पंकज यादव र सुभांग हेग्डेले समान ३/३ विकेट लिए भने सहिल राजका नाममा २ विकेट रह्यो । यस्तै सविर खान र एम सिंहले आफ खातामा १/१ विकेट लेखाए । नेपालले अब पर्सी भारत यू १९ को सामना गर्नेछ ।