काठमाडौं– १३ वर्षीया छोरीको बलात्कार र हत्या भएको ५० दिन नाघ्दा पनि अपराधी किन समातिएनन् रु सक्कली अपराधी लुकाउने उद्देश्य छैन भने शृंखलाबद्ध रूपमा नक्कली अभियुक्त किन खडा गरिएको छ ? सिंगो देश एकजुट भएर आवाज उठाउँदा, सडकमा रगत बगाएर बलिदानी दिँदा पनि सरकार जवाफदेही हुँदैन भने बोल्नै नसक्ने निमुखाले न्याय कसरी पाउलान् ? यिनै प्रश्नको भारी प्रधानमन्त्रीको अगाडि बिसाएर जवाफमा केही आशा र आशंका बोकी निर्मलाका आमाबाबु घर फर्किएको खबर आजको नयाँपत्रिका दैनिकले लेखेको छ ।


ADVERTISEMENT


जाँदाजाँदै निर्मलाका आमाबाबुका प्रश्न


ADVERTISEMENT

# # #


१. प्रधानमन्त्रीले टेलिभिजनमा बोलेको कुराले हाम्रो मन पिरोलिएको छ । निर्मला पन्तको पोस्टमार्टमपछि उनको शव मेयरको आँगनमा लगियो भनेर उहाँले भन्नुभो । शव महाकाली अञ्चल अस्पतालबाट सीधै दाहसंस्कारका लागि लगिएको हो । कसैको घरमा लगिएको छैन । यति खुलस्त विषयमा पनि उहाँलाई गलत जानकारी छ भने अपराध अनुसन्धानको विषयमा कसरी सही जानकारी होला ?

२. अनुसन्धान गर्न दिइएन, अवरोध भयो भनेर प्रधानमन्त्रीले टिभीमा बोल्नुभयो । तर, अनुसन्धान गरेर अपराधी पत्ता लगाइदेऊ भनेर नै त्यति धेरै मान्छे सडकमा आएका हुन् । त्यही माग गर्दा जनताका छोराछोरीले ज्यान गुमाए । कति घाइते भए । काठमाडौं र देशभरि नारा–जुलुस भए । मैनबत्ती बालिए । यति ठूलो आन्दोलन केका लागि थियो ? तर, यो आवाजले अनुसन्धान गर्न कसरी रोक्यो ?

३. व्यक्ति तोकेर यो अपराधी हुनुपर्छ भनेर दबाब दिइएकाले अनुसन्धान गर्न गाह्रो भएको भनेर प्रधानमन्त्रीले बोल्नुभयो । हामीले त्यसो भनेका होइनौँ । बरु, नक्कली मान्छेलाई उभ्याएर यसको नाममा किटानी जाहेर दिनूस् भन्ने त प्रहरी हो । मैले निर्दोष मान्छेलाई कसरी उजुरी दिन सक्छु भनेको हुँ । तर, उल्टै दबाब हामीले दिएका हौँ भन्ने आरोप प्रधानमन्त्रीले लगाउनुभयो । यो सब उहाँलाई स्पष्ट पार्ने मन थियो । तर, प्रधानमन्त्रीले मलाई सबै थाहा छ भनेर धेरै बोल्न दिनुभएन ।