विराटनगर : प्रदेश १ सरकारले संविधान दिवस भव्यताका साथ मनाउँदैछ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा गठन भएको ५०१ सदस्यीय मूल समितिले दिवसको भव्य तयारी गरेको छ ।


ADVERTISEMENT


सोमबार पत्रकार सम्मेलन गरी तयारीबारे आन्तरिक मालिमा तथा कानुन मन्त्रालयले जानकारी गराएको छ । आन्तरिक मामिला मन्त्री हिक्मत कार्कीले मंगलबार, बुधबार र विहीबार गरी तीन दिनसम्म भव्य रुपमा विविध कार्यक्रम गरी मनाउने तयारी गरिएको बताए ।


ADVERTISEMENT

# # #


राष्ट्रिय दिवसका रुपमा मनाउने तयारी गरिएको बताउँतै मन्त्री कार्कीले भने, ‘धार्मिक जातीय झाँकी प्रदर्शन गर्दै दिवस मनाउने तयारी भएको छ ।’ मन्त्री कार्कीले जनस्तरबाट अहिले प्रदेश सरकारलाई विश्वास नगरेपनि सरकार लोकप्रिय हुने प्रयासमा रहेको बताए । भने,‘जनता पर्ख र हेरको अवस्थामा छन् ।’

मंगलबार प्रदेशको अस्थायी राजधानी विराटनगरभित्रका सरकारी कार्यालय, महानगरपालिका कार्यालय र अन्य क्षेत्रका विभिन्न स्थानहरुमा राष्ट्रिय झण्डा एवं व्यानर सजाउने, नगरको श्रृङ्गार गर्ने तथा दीपावली गर्ने तयारी गरिएको छ ।

उत्कृष्ट झाँकी समूहलाई पुरस्कार दिइने छ । कार्यक्रममा प्रदेश प्रमुख सचिव केदार न्यौपानेले दिवसको तयारीमा कुनै कसर बाँकी नराखिएको जानकारी दिए ।

बुधबार सूर्योदयका साथ प्रहरीले विगुल बजाउने कार्यक्रम तय भएको छ । सहिदहरु प्रति सम्मान र श्रद्धाञ्जली अर्पण गर्दै विभिन्न मठ, मन्दिर, मस्जिद, विहार, गुरुद्धार, चर्च लगायतका स्थानहरुमा पूजापाठ र प्रार्थनाको कार्यक्रम गर्ने सरकारको तयारी छ ।

विराटनगरस्थित सहिद रंगशालामा नेपाली सेना, नेपाल र सशस्त्र प्रहरी तथा नेपाल स्काउट र विद्यार्थीले मार्च पास गर्ने छन् । त्यसबेल झाँकीसमेत प्रदर्शन हुनेछ ।