गोरखा– मोटरसाइकलको ठक्करबाट एक व्यक्ति गम्भीर घाइते भएपछि स्थानीयवासीले गोरखा–आँबुखैरेनी सडक अवरुद्ध पारेका छन् ।


ADVERTISEMENT


आज मोटरसाइकलको ठक्करबाट गोरखा नगरपालिका–१४ का रुद्र कुमाल गम्भीर घाइते भएपछि मोटरसाइकल र चालकलाई पक्राउ गर्न माग गर्दै स्थानीयले बिहान ११ बजेदेखि सडक अवरुद्ध पारेका हुन् । प्रहरीले सडक खुलाउन पीडित पक्षसँग छलफल गरेको भए पनि सहमति हुन नसक्दा दुवैतर्फ सवारीका साधन रोकिएका छन् । गोरखा नगरपालिका–१२ को १० किलो भन्ने स्थानमा नम्बर खुल्न नसकेको रातो रङको मोटरसाइकलले सडकमा हिँडिरहेका कुमाललाई ठक्कर दिएको थियो ।


ADVERTISEMENT

# # #


मोटरसाइकलको ठक्करबाट कुमालको टाउको र खुट्टामा गम्भीर चोट लागेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका प्रमुख दयाराम पौडेलले जानकारी दिए । स्थानीयवासीले दोषीलाई तत्काल पक्राउ गरी कारवाही नगरेसम्म सडक खुल्न नदिने अडान लिएका छन् । उनीहरुले घाइतेको निःशुल्क उपचार व्यवस्थासमेत गर्नुपर्ने माग गरेका छन् । बाटो अवरुद्ध हुँदा गोरखा सदरमुकामदेखि काठमाडौँ पोखरा, चितवन, हेटौँडालगायतका स्थानका लागि छुटेका सवारीसाधन रोकिएका छन् ।

त्यस्तै गोरखातर्फ आउँदै गरेका सवारीसाधनसमेत आँबुखैरनीतर्फ नै रोकिएको ट्राफिक प्रहरीले जनाएको छ । प्रहरीले पटकपटक बल प्रयोग गरेर बाटो खुलाएको भए पनि केही बेरमै स्थानीयवासीले पुनः सडक अवरुद्ध गर्दै आएकाछन् । ठक्कर दिने मोटरसाइकल र चालकको खोजी भइरहेको जिल्ला ट्राफिक प्रहरी प्रमुख पौडेलले जानकारी दिए ।