लहान– प्रदेश २ का आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवले वृक्षरोपण गरी आज प्रदेश २ लाई हरित प्रदेश बनाउने अभियानको शुभारम्भ गरेका छन् ।


ADVERTISEMENT


अभियानअन्तर्गत आज सिरहाको लहान नगरपालिका–३ स्थित वलान खोला नजीकैको सन्यासी सामुदायिक वनमा मन्त्री यादवसहित पूर्वमन्त्रीहरु राजलाल यादव र शत्रुधन सिंह कोइरी, सिरहाका प्रजिअ रुद्रप्रसाद पण्डित, प्रहरी प्रमुख जीवनकुमार श्रेष्ठ, विष्णुपुर गाउँपालिकाका प्रमुख जागेश्वर यादव, जिल्ला समन्वय समिति सिरहाका उप–सभापति सरोज यादव लगायतले सामूहिक रुपमा वृक्षरोपण गरे ।


ADVERTISEMENT

# # #


प्रदेश सरकार उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय प्रदेश नं २ जनकपुरको आयोजनामा प्रदेशका आठ वटै जिल्लामा एकै पटक एकै समय हरित प्रदेश अभियान कार्यक्रमअन्तर्गत वृक्षरोपण गरिएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले प्रदेश २ लाई हरित प्रदेश बनाउने अभियानलाई अगाडि बढाउन सबै मिलेर सफल बनाउनुपर्ने बताए । महगनी–८०० गोटा, टिक–एक हजार गोटा, निम–६००, गम्हरी–६०० र मसाल जातका तीन हजार बिरुवा रोपिएको डिभिजनल वन वन अधिकृत सुनिलकुमार सिंहले जानकारी दिए ।

उक्त अवसरमा विभिन्न पार्टी, प्रतिनिधि तथा डिभिजन वन कार्यालयका गङ्गाप्रसाद यादव लगायतका वन कर्मचारी तथा वन उपभोक्ताको सहभागिता थियो ।