काठमाडौं– निर्माण व्यवसायी शरदकुमार गौचन हत्याको अभियुक्त समिरमान सिंह बस्नेतलाई मुस्ताङ जेलमा सरुवा गरिएकोप्रति बस्नेतको परिवारले आपत्ति तथा शंका जनाउँदै जीवन रक्षाको माग गरेको छ ।


ADVERTISEMENT


बुधबार बस्नेतका परिवारले रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर यस्तो आपत्ति जनाएको हो । बस्नेतकी श्रीमती माया शेरचन र दाईहरु सुधिरमानसिंह र सुविरमानसिंह बस्नेतले सरकारले जालझेल र षड्यन्त्र गरेर समिरलाई काठमाडौंबाट रातारात मुस्ताङ पुर्याएको भन्दै घोर आपत्ति जनाएका हुन् ।


ADVERTISEMENT

# # #


बस्नेतकी श्रीमती शेरचनले आफूलाई प्रहरी प्रशासनले श्रीमानसँग भेट्नसमेत नदिएको गुनासो पोखिन् । उनले भनिन्,‘उहाँलाई काठमाडौंबाट किन लगियो भन्नेमा हामीलाई शंका छ । उहाँको केश त यहीँ काठमाडौंमै छ । किन काठमाडौंबाट उता लगियो यसमा हाम्रो घोर आपत्ति छ ।’

प्रहरी प्रशासनले यसरी काठमाडौं बाहिर लैजानुमा शंका उत्पन्न भएको भन्दै उनले आफ्नो श्रीमानलाई प्रहरीले ईन्काउन्टर गर्ने षड्यन्त्रका साथ जेल सारेको आरोप लगाईन् । कार्यक्रममा समिरको तर्फबाट वकालत गरिरहेका अधिवक्ता कृष्ण प्रसाद शर्माले राज्यले हरेक नागरिकलाई सुरक्षा दिनुपर्ने बताउँदै नागरिकहरुको मानव अधिकारको प्रत्याभुति गर्नुपर्ने बताए ।

बस्नेतका परिवारले राज्यले आफ्नो दायित्वबाट विमुख नहोस् भन्ने चाहेको सुनाउँदै शर्माले बस्नेतको जीवन रक्षाको माग गरे ।
कार्यक्रममा समिरका दाईहरु सुधिरमानसिंह र सुविरमानसिंहले पनि भाईको जीवन रक्षाको माग गरे ।

गत मंसिरदेखि नख्खु कारागारमा रहेका सिंहलाई यही असोज १५ गते सोमबार मुस्ताङ लगिएको हो । गत वर्ष असोज २३ गते काठमाडौंको शान्तिनगरस्थित खरिबोटका निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनमाथि गोली हानी हत्या गरेको आरोपमा गत मंसिरमा बस्नेतलाई पक्राउ गरिएको थियो।