काठमाडौँ– राष्ट्रिय जनता पार्टीका शीर्ष नेता वृषेशचन्द्र लालले संविधान संशोधन पारित नभएसम्म राजपा नेपालले कुनैपनि निर्वाचनमा भाग नलिने स्पष्ट पारेका छन् ।


ADVERTISEMENT


बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता लालले संविधान संशोधन गर्छु भनेर सरकारले पटक–पटक लिखित सम्झौता समेत गरिसकेको तर अहिलेसम्म कुनैपनि सम्झौता कार्यान्वयन नगरेकोले यसपटक सरकारको जालझेलमा नपर्ने बताएका हुन् । उनले भने,‘संविधान संशोधन नभएसम्म हामी कुनैपनि निर्वाचनमा भाग लिँदैनौं, किनकी सरकारले धेरै पटक संशोधन गर्छु भनेर हामीलाई झुक्याउने काम भएको छ, अब हामी झुक्किनेवाला छैनौं।’


ADVERTISEMENT

# # #


उनले अहिले राजपा नेपालको आन्दोलनलाई लिएर सुनियोजित प्रचार गरिएको समेत गुनासो पोखे । उनले भने,‘संविधान संशोधनमार्फत मधेशी, जनजाति, आदिवासीलगायतका माँगहरु पूरा गर्नुपर्छ भनेर हामी निरन्तर आन्दोलनमा छौं, अहिले जुन हल्ला चलाईएको छ, त्यो निराधार हो।’ उनले चुनावको मिति सार्नु वा नसार्नु भन्नेबारे आफूहरुको कुनै चासो नभएको समेत स्पष्ट पारे ।

नेता लालले भने,‘चुनावको मिति सारियोस् वा नसारियोस् यो हाम्रो चासोको विषय होईन, तर अहिले हामीलाई यसबारेमा मुछ्ने काम गरिएको छ, यो सुनियोजित प्रचार मात्रै हो, यसमा कुनै सत्यता छैन्।’ त्यस्तै उनले चुनाव चिन्ह पनि आफूहरुले अहिले नमाँगेको जिकिर गरे । लालले थपे,‘हाम्रो मुख्य माँग भन्नुहोस् या बटमलाईन त्यो भनेको संविधान संशोधन मात्रै हो।’

उनले आफूहरुले उठाएका माँगहरु पूरा नभएसम्म आन्दोलन जारी रहने समेत विश्वास दिलाए । उनले भने,‘जनताहरु हाम्रो आन्दोलनमा जोडिरहेका छन्, जनताको पूरा साथ छ, संविधान संशोधन नगरीकन गरिने निर्वाचनलाई जनताले अवरोध गर्छन् ।’ उनले संविधान संशोधनबारे पछिल्लो समय र विगतको अवस्थामा धेरै स्थिति फेरिएको समेत तर्क गरे । उनले भने,‘अहिले त नेकपा एमालेपनि संशोधनको पक्षमा छ, हिजोको जस्तो स्थिति अहिले छैन नि।’

यद्धपी उनले पछि संशोधन गरौंला भन्ने नाममा लिखित प्रतिबद्धता आएपनि विश्वास गरिहाल्ने अवस्था अझैं नरहेको जिकिर गरे । उनले भने,‘अहिले निर्वाचनमा जाऔं, पछि संशोधन गरौंला भनेर भनियो भने हामी मान्नेवाला छैनौं।’

उनले आफूहरुले उठाएका राजनीतिक मुद्दामा आन्दोलनका क्रममा आफ्ना कार्यकर्ताहरुलाई लगाईएका झुठा मुद्दा खारेज गर्नुपर्ने, बाँकी ९ जनालाई सहिद घोषणा गर्नुपर्ने, स्थानीय तहको संख्या जनसंख्याको आधारमा निर्धारण गर्नुपर्ने रहेको पनि सुनाए ।

उनले उपेन्द्र यादवले आन्दोलनबाट विश्राम लिएको समेत आरोप लगाए । उनले भने,‘उपेन्द्र यादवजीले अहिले विश्राम लिन चाहनुभएको छ, आन्दोलनलाई महत्व दिएका छैनन्।’ तराई मधेशमा उपेन्द्र यादवले जनताको दबाब थेग्न नसक्ने समेत लालले ठोकुवा गरे । उनले भने,‘हामीलाई विश्वास छ, उपेन्द्रजीले जनताको दबाब थेग्न सक्नुहुन्न, उहाँपछि आन्दोलनमा आउनुपर्छ, उहाँलाई हामी स्वागत नै गर्छौं।’