काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता प्रदिप पौडेलले पार्टीको केन्द्रिय समिति, पदाधिकारी, अनुशासन समिति र संसदीय समिति सबै निर्वाचनमार्फत चयन गर्नुपर्ने स्पष्ट पारेका छन् ।


ADVERTISEMENT


शनिबार नेपाली कांग्रेस धनकुटा–काठमाडौं सम्पर्क समितिले रिपोर्टर्स क्लब नेपालमा आयोजना गरेको दशैं, तिहार र छठलगायतका चाडपर्वको अवसरमा शुभकामना आदान–प्रदान आयोजित कार्यक्रममा नेता पौडेलले पार्टीभित्र अहिले आन्तरिक लोकतन्त्र सुदृढ गर्नुपर्ने मुख्य चूनौति रहेको बताए । उनले भने, ‘आन्तरिक लोकतन्त्र सुदृढ गर्नु अहिलेको चूनौति हो । त्यसैले हामीले अब सबै पदाधिकारी, केन्द्रिय समितिलगायतमा प्रत्यक्ष निर्वाचित प्रणाली स्थापित गर्नुपर्छ ।’


ADVERTISEMENT

# # #


समितिका सभापति भीमबहादुर थापाको सभापतित्वमा आयोजित कार्यक्रममा बोल्दै नेता पौडेलले पार्टीभित्र यतिवेला अनुशासन उल्लंघन भैरहेकोले अनुशासन कायम गर्नको लागि पनि शक्तिशाली अनुशासन आयोग गठन गर्नुपर्ने पनि धारणा अघि सारे । उनले थपे,‘शक्तिशाली आयोग बनाउनुपर्छ, र यसले सबैलाई अनुशासनको दायरामा राख्छ । सभापतिलाईसमेत अनुशासनभित्र राख्न सक्नुपर्छ ।’ अब सभापतिले टिका लगाएर कोहीपनि नियुक्त गर्न नहुने उनको भनाई छ ।

पार्टीभित्र बसेर गलत गर्ने र अनुशासन नमान्नेहरुलाई कारबाही गर्न सक्ने मान्छे मात्रै अनुशासन समितिको नेतृत्वमा बस्नुपर्ने उनको भनाई छ । पार्टीलाई आगामी दिनमा कसरी अघि बढाउने भन्नेबारेमा आफूहरुले यतिवेला छलफलमै रहेको पौडेलले सुनाए । उनले भने,‘पार्टीको सबै विद्यानहरुलाई हुबहु लागु गर्न नसक्नु पार्टी नेतृत्वको कमजोरी हो । अब पार्टीको विधान नवौंपटक संशोधन हुँदैछ । यसमा कुनै विमति छैन ।’

फरक प्रसंगमा उनले सत्तारुढ दल नेकपा र यसका नेताहरु अहिले पतनको बाटोमा अग्रसर रहेको आरोप लगाए । उनले भने,‘अहिले सत्तारुढ दल नेकपाका नेताहरु पतनको बाटोमा छन् । सरकारले अहिलेसम्म एउटापनि राम्रो काम गर्न सकेको छैन । प्रधानमन्त्री ओलीले चुनावमा घोषणा गरेका प्रतिबद्धताबमोजिम कुनैपनि काम गर्न सक्नुभएन ।’

प्रधानमन्त्री ओलीले अहिलेसम्म सम्झनलायक एउटापनि राम्रो काम गर्न नसकेको उनको आरोप छ । उनले भने,‘मेलम्ची खानेपानी परियोजनापनि हाम्रै पालामा भएको हो । नारायणघाट–मुग्लिन सडक खण्डको स्तरोन्नती हाम्रै पालामा भएको हो । यो सरकारले के नयाँ काम गरेको छ र ?’

यस्तै उनले सरकारले बिना टेण्डर र बिना सूचना बुढीगण्डकी जलविद्युत परियोजना एकलौटी रुपमा चिनियाँ कम्पनीलाई दिएको भन्दै पौडेलले कडा आपत्ति जनाए ।