बाजुरा– जिल्लाको छेडेदह गाउँपालिकामा धनी र हुनेखानेका नाममा गरिब परिचयपत्र बनेको भन्दै परिचयपत्र वितरण गर्ने कार्यमा रोक लगाएको छ ।


ADVERTISEMENT


छेडेदह गाउँपालिकाको वडा नं. ३ मा गरिबका नाममा हुनेखाने र धनीका नाममा गरिबको परिचयपत्र बनेको भन्दै गरिबको नाउमा धनीलाई परिचयपत्र नबाँड्ने भन्दै गाउँपालिकाले रोक लगाएको हो । वास्तविक गरिबको पहिचान नभई गरिब परिचयपत्रको दुरुपयोग गर्दै धनीहरूका हातमा पर्ने भएकाले वास्तविक गरिबको पहिचान नहुँदासम्म परिचयपत्र वितरण नगर्ने छेडेदह गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष दीपक रावतले बताएका छन् ।


ADVERTISEMENT

# # #


जिल्लाभरिको आर्थिक हैसियत अध्ययन गर्दा १२ महिनासम्म खान पुग्नेको सङ्ख्यामा पर्नेलाई गरिब नभनेर हुनेखानेलाई परिचयपत्र थमाउने कामलाई हामीले रोकेका हौँ, अध्यक्ष रावतले भने । जिल्लामा गरिबी व्याप्त भएको र गरिब परिचयपत्रमा वास्तविक गरिबले नपाउन्जेलसम्म हाम्रो वडामा गरिब परिचयपत्र वितरण नदिइने उनले बताएका छन् ।

जिल्लाका धनाल्त, मौवाडी, धुर्तला र गुदुवासीले वास्तविक आफू गरिबको तथ्याङ्कमा आउन नसकेको भन्दै विरोध जनाएका छन् । धनीको नाम गरिबको सूचीमा आयो भने हामी गरिबको नाम कुन सूचीमा पर्ने हो ? स्थानीय रमेश बुढाले भने ।

गरिबले हुनेखानेको जमिन जोतेर दैनिक जीवन गुजारा गर्दै आएका छन् । जमिन्दार नै गरिबको सूचीमा परेका छन्, यो जिल्लामा भने कसरी न्याय हुन्छ ? बुढाले भने ।

यो समस्या छेडेदह गाउँपालिका मात्र नभई जिल्लाको सबै नगर तथा गाउँपालिकामा रहेको छ । एउटा गरिब परिचयपत्रमा यस्तो खालको विभेद हुन्छ भने कुनै सरकारी क्षेत्रको सेवा प्रवाहमा के होला ? स्थानीयस्तरमा आएका योजना के हुन्छन् होला ? उनले प्रश्न गर्दै भने । – आजको गोरखापत्रबाट