काठमाडौं– मलेसियामा जारी आइसिसी विश्व टी–२० क्रिकेटअन्तर्गत एसिया छनोट समूह ‘बी’ को चौथो खेलमा नेपालले भुटानलाई ११७ रनको फराकिलो अन्तरमा हराएको छ ।


ADVERTISEMENT


नेपाल पहिले ब्याटिङ गर्दै दिएको १५१ रनको लक्ष्य पछ्याएको भुटान १६.४ ओभरमा ३३ रनमा समेटियो ।


ADVERTISEMENT

# # #


भुटानलाई सस्तैमा समेट्न नेपालका सन्दिप लामिछाने, ललितनारायण राजबंशी र बसन्त रेग्मीले ३–३ विकेट लिए। दीपेन्द्र सिंह ऐरी र शरद भेसवाकरको नाममा १–१ विकेट रह्यो । ४ ओभर बलिङ गरेका ललितले २ मेडन फाल्दै ४ रन खर्चिए भने सन्दिपले २ मेडन राख्दै ६ रन खर्चिए ।

४ ओभर बलिङ गरेका बसन्त रेग्मीले १ मेडनसहित ७ रन खर्चिएर २ विकेट लिए । ४ ओभर बलिङ गरेका दीपेन्द्रले १३ रन खर्चिए ।

यस्तै ०.४ ओभर बलिङ गरेका शरद भेसवाकरले १ विकेट लिए ।

भुटानका लागि तेन्जिङ वाङचुकले सर्वाधिक ११ रन बनाए । बाँकी भुटानका कुनै पनि खेलाडीले दोहोरो रनको स्कोर छुन सकेनन् ।

यअसघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १५० रन बनाएको थियो । नेपालका लागि प्रदीप ऐरीले अर्धसतकीय पारी खेले । ६८ बल खेलेका ऐरीले २ छक्का र ६ चौकासहित ७५ रनमा नटआउट रहे ।

अनिल शाहले २७ रन बनाउँदा दीपेन्द्र सिंह ऐरीले १५ तथा आरिफ शेखले १३ रन जोडे । करण केसीले ५ बलमा ११ रन जोडे ।

असोज २६ गतेसम्म मलेसियामा हुने प्रतियोगितामा नेपालसहित सिङ्गापुर, मलेसिया, भूटान, चीन, म्यान्मा र थाइल्याण्डबीच प्रतिस्पर्धा हुनेछ । राउण्ड रोबिनका आधारमा हुने प्रतिस्पर्धाबाट शीर्ष तीन टोली दोस्रो चरणको छनोटमा छानिने छन् ।

यसअघि नेपालले म्यान्मार, आयोजक मलेसिया र थाइल्याण्डलाई पराजित गरिसकेको छ । लगातार चार खेल जितेसंगै नेपाल एशिया क्षत्रीय छनोटमा प्रवेश गरेको छ ।

सन् २०२० मा अस्ट्रेलियामा हुने टी–२० विश्वकप छनोटको लक्ष्यमा रहेका ६२ देशहरू यतिबेला विभिन्न छनोट चरण खेलिरहेका छन् । यसै अन्तर्गत एशिया उपक्षेत्रीय प्रतियोगिता भइरहेको हो । छनोट खेलिरहेका टिमले सन् २०२० को विश्वकपमा पुग्न विभिन्न ३ वटा छनोट चरण खेल्नुपर्नेछ ।

नेपालले अहिले खेलिरहेको सब रिजनमा मलेसिया, भुटान, म्यानमार, चीन, सिङापुर, थाइल्यान्ड रहेका छन् । यसबाट शीर्ष ३ टिमले एशियन रिजन छनोट खेल्नेछन् । एसियन सब रिजनल छनोटमा रहेका ए र बी गरी आउने ६ टिमहरू बिच एसियाली क्षेत्रीय छनोट हुनेछ । यसबाट २ टिम मात्र टी–२० विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा पुग्नेछन् । हाल एसियन सब रिजनल ‘ए’ बाट युएई, कुवेत, कतार एशियाली क्षेत्रीय छनोटमा पुगिसकेका छन् ।

एसियाली छनोटबाट आएका २ टिमले अन्य क्षेत्रीय छनोटबाट आएका ६ टिम र यही वर्षको डिसेम्बरसम्म आइसीसी बरियतामा ११ देखि १६ मा पर्ने टिम गरेर कुल १४ टिम बिच ग्लोबल छनोट हुनेछ ।

जसबाट शीर्ष ६ टिमले विश्वकप स्थान बनाउनेछन्। नेपालले अन्तिम छनोटमा शीर्ष ६ मा पर्न सकेमा दोस्रो पटक टी–२० विश्वकप खेल्नेछ । यसअघि बंगलादेशमा सन् २०१४ मा भएको टी ट्वान्टी विश्वकप खेलेको थियो ।