एजेन्सी– युरोपियन फुटबल महासंघ युईएफएको आयोजनामा भइरहेको युईएफए नेशन्स लिग अन्तर्गत गएराति भएका खेलहरुमा बेल्जियमले स्वीट्जरल्याण्डलाई हराउँदा इंग्ल्याण्ड र क्रोएशियाले गोलरहित बराबरी खेलेका छन् ।


ADVERTISEMENT


लिग ए अन्तर्गत समूह डी मा रहेका इंग्ल्याण्ड र क्रोएशियाले लिगमा समूहमा पहिलो अंक जोडेका छन् । यो समूहमा स्पेन दुवै खेलमा जित हासिल गरी शीर्ष स्थानमा रहँदा क्रोएशिया र इंग्ल्याण्डको एक एक अंक छ ।


ADVERTISEMENT

# # #


क्रोएशियाको राष्ट्रिय रंगशालामा भएको खेलमा अधिकांश समय बल पोजिसन लिए पनि इंग्ल्याण्डले गोल गर्न सकेन । यी दुई टोली रुस विश्वकपको सेमिफाइनलमा आमने सामने भएका थिए । यसपटक इंग्ल्याण्डका लागि बदला लिने अवसर थियो तर, सफल भएन ।

यता बेल्जियमले भने स्वीट्जरल्याण्डलाई २–१ गोलले हराएको छ । घरेलु मैदानमा बेल्जियमले पहिलो हाफ गोलरहित बराबरी खेलेको थियो । तर, दोस्रो हाफमा रोमेलु लुकाकुले २ गोल गर्न सफल भए । ५८औं मिनेटमा थोमस मुनिरको पासमा गोल गरी लुकाकुले बेल्जियमलाई अग्रता दिलाए । ७६औं मिनेटमा मारियो गाभ्रानोभिचले स्वीट्जरल्याण्डका लागि बराबरी गोल गरे । तर, ८४औं मिनेटमा मार्टिन्सको पासमा लुकाकुले व्यक्तिगत दोस्रो गोल गर्दा बेल्जियम विजयी भयो । लिग ए को समूह बी मा लगातार दोस्रो जितसँगै बेल्जियम अंकतालिकाको शीर्ष स्थानमा छ ।