मुसिकोट– रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाले बजार क्षेत्रमा सङ्कलित फोहर खोलामा बगाउँदै आएको छ ।


ADVERTISEMENT


फोहर व्यवस्थापनका लागि डम्पिङ साइटको व्यवस्था नहुँदा नगरपालिका आफैंले बजारमा सङ्कलन गरेको फोहर यहाँको गिजागाड खोलामा फाल्दै आएको हो ।


ADVERTISEMENT

# # #


उक्त नगरपालिकाको केन्द्र रहेको वडा नं ९ को राडी बजारका विभिन्न ठाउँबाट सङ्कलित सबै फोहर सो खोलामा फाल्ने गरेकाले स्थानीयवासीले पनि घरघरमा सङ्कलन गरेको फोहर मनोमानी ढङ्गले खोलामा बगाउँदै आएका छन् ।

वडा नं १२ र ९ लाई जोड्ने गिजागाड माथिको झोलुङ्गे पुलबाट स्थानीयवासीले दिनहुँ खोलामा फोहर फाल्दा यस क्षेत्रको वातावरण दुर्गन्धित हुनाका साथै खोला किनारमा फोहरको थुप्रो समेत बढ्दै गएको छ ।

यसअघि नगरपालिकाले बजारवासीलाई आफूखुशी यहाँको पुलबाट फोहर नफाल्न र फालेको भेटिए कारवाही हुने सूचना सार्वजनिक गरेपनि नगरपालिकाले आफैंले बनाएकोे ‘समृद्ध र स्वच्छ’ नगरको नारालाई लत्याउँदै खोलामा सिधै फोहर फाल्दा आठबिसकोट बजार प्रदूषित बन्दै गएको छ । खोलामा फालिएको फोहर बजार क्षेत्र र यहाँको विभिन्न ठाउँ र किसानको खेतबारीमा थुप्रिने गरेको स्थानीयवासी शङ्करबहादुर पुनले बताएका छन् ।

उता नगरपालिकाले भने यस खोला किनारमा फाल्दै आएको फोहरलाई अस्थायीरुपमा मात्र व्यवस्थापन गरिएको जानकारी दिएको छ । तत्काल पर्याप्त मात्रामा डम्पिङ साइटका लागि जग्गा नभएकाले यस्तो गर्नुपरेको नगरपालिकाको भनाइ छ ।

बजार क्षेत्रको फोहर व्यवस्थापनका लागि जग्गा उपलब्ध हुन लागेको र त्यसपछि मात्र फोहरको उचित व्यवस्थापन गरिने निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीले बताए । उनका अनुसार डम्पिङ साइटका जग्गा खरीद भइसकेकाले छिटै फोहर व्यवस्थापन गरिने छ । रासस