काठमाडौं – म्याग्दीको धवलागिरि गाउँपालिका–१ स्थित गुर्जा हिमालको आधार शिविरमा आरोहणका क्रममा हिमआँधीमा परेर मृत्यु भएका ८ जनाको शव काठमाडौँ ल्याइएको छ । उनीहरुको शव आइतबार साँझ त्रिवि शिक्षण अस्पतालमा ल्याइएको हो ।


ADVERTISEMENT


हेलिकप्टरबाट आधार शिविरमा पुगेका सुरक्षाकर्मी र उद्धारकर्मीको टोलीले आइतबार बिहान पहाडको खोँचबाट नौ जनाको शव सङ्कलन गरेका थिए । जसमध्ये एक जना म्याग्दीकै वासिन्दा भएकाले उनको शव परिवारलाज्ञ जिम्मा लगाई बाँकी ८ जनाको शव काठमाडौं ल्याइएको हो ।


ADVERTISEMENT

# # #


प्रहरीका अनुसार असोज २४ गते राति सुतिरहेको अवस्थामा आएको हिमआँधीमा परेर दक्षिण कोरियाका जहन लि, च्याङ हो किन, इल जिन रिम, योङ जिक यु र जुन मो जियोङको मृत्यु भएको छ ।

यसैगरी धवलागिरि गाउँपालिका–१ गुर्जाका २९ वर्षीय नेत्रबहादुर छन्त्याल, सङ्खुवासभाको हटियाका ३९ वर्षीय छिरिङ भोटे, सङ्खुवासभाकै भोटेखोला गाउँपालिका–३ का २१ वर्षीय लाक्पा साङबु भोटे र सोलुखुम्बू घर बताउने फुर्वा भोटेको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।

टे«किङ क्याम्पस नेपालमार्फत गुर्जा हिमाल आरोहण र पदयात्राका लागि गएका उनीहरू असोज २४ गते रातिको हिमआँधीमा परेका थिए । आधार शिविर पुगेको टोली सम्पर्कबिहीन भएपछि शुक्रबार गुर्जाका बासिन्दा आधार शिविरतर्फ गएका थिए । स्थानीयवासीको टोली आधार शिविर पुगेर शुक्रबार राति फर्किएपछि शनिबार बिहान मात्रै दुर्घटनाको बारेमा जानकारी भएको थियो ।

पश्चिम हिमालको नामले समेत चिनिने गुर्जा ७ हजार १९३ मिटर अग्लो छ ।