काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीको अवसरमा आज बिहान नौ बजेर ५१ मिनेटको शुभसाइतमा वैदिक विधिपूर्वक श्री नवदुर्गा भवानीको टीका ग्रहण गरेकी छन् ।


ADVERTISEMENT


राष्ट्रपतिले हनुमानढोका दरबारका मूल पुजारी देवराज अर्याल र राष्ट्रपति कार्यालयका पुरोहित हेमचन्द्र ढकालबाट टीका–प्रसाद, तिलक, जमरा र रक्षासूत्र ग्रहण गरेकी हुन् ।


ADVERTISEMENT

# # #


स्वस्तिवाचनसहित मूल पुरोहित अर्याल र अन्य पुरोहितहरुले आश्विन शुक्ल प्रतिपदाका दिन वैदिक विधिपूर्वक माता नवदुर्गा भवानीको आह्वान गरी स्थापना गरिएको पूर्ण कलशको जलले राष्ट्रपतिमा अभिषेक गरेकी थिइन् ।

शास्त्रोक्त विधिपूर्वक प्रतिपदाका दिनदेखि महानवमीसम्म नवदुर्गा, कुमारी, महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजाअर्चना तथा सप्तशती पाठ गरिएको हनुमानढोका दशैघरबाट पूर्णकलशको जल, जमरा, तिलक र रक्षासूत्र ल्याइएको थियो ।

राष्ट्रपति भण्डारीले मूल पुरोहित, राष्ट्रपति कार्यालयका पुरोहित र अन्य ब्राह्मणलाई टीका, जमरा र दक्षिणा प्रदान गरे ।

त्यसअघि राष्ट्रपतिले दीप, कलश र गणेशको पूजा गरेकी थिइन् । राष्ट्रपति भवनको प्रेक्षालयमा टीका मङ्गलटीकाको कार्यक्रम भइरहँदा नेपाली सेनाको एक टोलीले मन्द तर मधुर ध्वनिमा मङ्गलधुन बजाइएको थियो ।

राष्ट्रपतिले आफ्ना पूजनीय माता मिथिला पाण्डेबाट टीका–जमरा र दक्षिणा ग्रहण गरिन् । साथै उनले काका डेकेन्द्र पाण्डेबाट पनि नवदुर्गा भवानीको प्रसादस्वरुप टीका–जमरा ग्रहण गरिन् ।

राष्ट्रपति भण्डारीले छोरीज्वाँइ उषाकिरण र उमेश थापा तथा निशाकुसुम र अभिषेक यादवलाई टीका–जमरा लगाइदिइन् । उनले परिवारका अन्य सदस्यका साथै राष्ट्रपति कार्यालयका कर्मचारी, सुरक्षाकर्मी र समाचार सङ्कलन गर्न पुगेका सञ्चारकर्मीलाई पनि टीका जमरा लगाइन् ।रासस