बनेपा– स्थानीय खोलाबाट उत्पादन गरिएको लघुजलविद्युत् आयोजनाको कुलो बनाउन बालुवा र सिमेन्ट बोकेर हैरान भएका महाभारत गाउँपालिका–३ का कुलदेव अस्तानी मगरलाई अब बत्ती बाल्नकै लागि दुःख गर्नुपर्ने दिन टाढा भएको छ ।


ADVERTISEMENT


पोखरा खोला लघुजलविद्युत् सञ्चालनमा आएपछि उज्यालोमा बस्न पाउने आशाका साथ उत्साहित भएका त्यहाँका बासिन्दा कुलोमा पानी चुहिने र भत्कने गरेका कारण वर्षेनी सिमेन्ट र बालुवा बोकेर कुलो मर्मत गर्दैमा हैरानी खेप्दै आइरहेका छन् । “हिउँदमा पानी नपुग्ने र वर्षामा बगाएर समस्या भएपछि कुलो मर्मत गर्दै टुकी बत्तीको विकल्पमा सहारा लिँदै आइरहेका डाँडापारिका बासिन्दा अब केन्द्रीय प्रसारण लाइन विस्तार हुने कुराले निकै उत्साहित छौँ”, अस्तानीले भने ।


ADVERTISEMENT

# # #


दुःख गरेर निर्माण भएको लघुजलविद्युत्को उज्यालो टुकी बत्तीजत्तिकै भए पनि १५ वर्षदेखि मट्टीतेल किनेर टुकी बाल्नुपर्ने अवस्थाबाट मात्रै मुक्त भएको उनको भनाइ छ । अहिले पनि महाभारत गाउँपालिकामा मात्रै १५ लघुजलविद्युत् सञ्चालन भइरहेका छन् । तीमध्ये अधिकांश मर्मत गर्न नसकेका कारण तार मात्रै तानेर राखिएको र बत्ती बाल्न नसकिएको स्थानीय बासिन्दा बताउँछन् ।

लघुजलविद्युत् सञ्चालनमा आए पनि फोक्सिङ्टारको लोक्पा र घर्तीछापको ठुटेआँपलगायत ठाउँमा अझै सो सुविधा पुग्न सकेको छैन । ती स्थानमा गाउँपालिकाको अगुवाइमा सौर्यबत्ती वितरण गरिएपछि मानिसले उज्यालोको उपभोग गर्दै आइरहेका छन् ।

खानीखोला गाउँपालिकाका प्रकाश लामाले सञ्चालन हुँदै आएको लघुजलविद्युत्का लागि हिउँदमा पानी नपुग्दा भएको रातो पत्ती पनि शक्ति नपुगेर पालैसँग बाल्दै आइरहेको बताए । “लघुजलविद्युत्को मर्मत गर्दागर्दै आजित भइसक्यौँ”, लामाले भने, “त्यसले पनि वर्षको तीन चार महिनामात्रै बाल्न पाइन्छ, त्यो पनि टुकी बत्ती जस्तो ।”

बत्ती नभएका कारण डाँडापारिका कतिपय स्थानमा अहिले पनि सञ्चारका लागि मोबाइल चार्ज गर्नसमेत नपाइने अवस्था रहेको लामाले बताए। “सोलारबाट चार्ज गर्दा त्यति टिक्दैन, त्यो पनि घाम नलाग्दा बत्ती बाल्नसमेत पुग्दैन”, उनले थपे, “अब केन्द्रीय प्रसारण लाइन जोड्ने भन्ने कुरा सुनेको छु, अब छिट्टै उज्यालोमा बस्न पाइन्छ कि जस्तो छ ।”

खानीखोला गाउँपालिकाभित्र करीब १२ लघुजलविद्युत् सञ्चालनमा आए पनि भनेजस्तो उज्यालो उपभोग गर्न नपाएको स्थानीय बासिन्दाले गुनासो गर्दै आइरहेका छन् । महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले विश्व बैंकको सहयोगमा केन्द्रीय प्रसारण लाइन जोड्ने काम निश्चित भइसकेको बताए ।

“गाउँपालिकाको सहयोग र नेपाल विद्युत् प्राधिकरण बनेपाको प्राविधिक सहयोगमा प्रारम्भिक सर्वे भइसकेको र त्यसका लागि रोशी गाउँपालिकाको कटुञ्जेमा र महाभारत गाउँपालिकाको गोकुलेमा सबस्टेशन राखेर लाइन प्रसारणको काम अगाडि बढ्ने भएको छ”, जिम्बाले भने, “डाँडापारिमा केन्द्रीय प्रसारण लाइन विस्तार गर्न पटक पटक आग्रह गर्दा पनि कुनै सुनुवाइ भएको थिएन, केही महीना अगाडि गाउँपालिकाको केन्द्र बनखुको कार्यक्रममा पुग्नुभएका नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र ऊर्जामन्त्री वर्षमान पुनसमक्ष समस्या राखेपछि अब केन्द्रीय लाइन विस्तार हुने पक्का भएको हो ।”

नेपाल विद्युत् प्राधिकरणका इञ्जिनीयर विजय चौधरीले डाँडापारिमा केन्द्रीय प्रसारण लाइनका लागि बोलपत्र आह्वान भइसकेकाले अब तीन चार महीनाभित्र नै काम अगाडि बढ्ने बताउनुभयो । “ठेकेदार कम्पनी छनोट भएर ठेक्का सम्झौता भएपछि काम अगाडि बढ्नेछ”, उनले भने, “दुई गाउँपालिकाको भौगोलिक क्षेत्र ठूलो भएकाले सर्वेक्षण गर्न मात्रै चार महीना लाग्नेछ ।” उनका अनुसार काभ्रेपलाञ्चोक जिल्लाको सो क्षेत्रमा केन्द्रीय प्रसारण लाइन विस्तारका लागि काम गर्न चालु आर्थिक वर्षमा रु एक अर्बको काम हुनेछ ।– पेमा लामा/रासस