भरतपुर– चितवनको भरतपुरस्थित बिपी कोइराला क्यान्सर अस्पतालका पूर्वअध्यक्ष डा. भक्तमान श्रेष्ठ भ्रष्टाचारी ठहर  भएका छन् । न्यायाधीश बाबुराम रेग्मी, रत्नबहादुर बागचन्द र प्रमोदकुमार श्रेष्ठ वैद्यको संयुक्त इजलासले मंगलबार श्रेष्ठलाई भ्रष्टाचारी ठहर गरेको हो ।


ADVERTISEMENT


उनलाई विशेष अदालतले एक वर्ष कैद, १ करोड १८ लाख जरिवाना र सोबराबरको सम्पत्ति जफत गर्ने फैसला गरेको छ  । अख्तियारले दाबी गरेकोमध्ये ४८ लाख ९० हजार ३ सय ३७ रुपैयाँ श्रेष्ठको वैध सम्पत्ति रहेको र बाँकी १ करोड १८ लाख ६६ हजार रूपैयाँ अवैध ठहर्‍याएको छ ।


ADVERTISEMENT

# # #


अख्तियारले उनलाई २०७२ सालमा अकुत सम्पत्ति कमाएको भन्दै मुद्दा लगाएको थियो । डा. श्रेष्ठले अस्पतालको सेवा प्रवेश गरेदेखि नै सार्वजनिक पदमा बहाल रहँदा आफ्नो पदीय जिम्मेवारी दुरुपयोग गरी गैरकानुनी रूपमा धन आर्जन गरेको प्रमाणसहित विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो ।

क्यान्सर अस्पतालको अध्यक्ष रहँदा श्रेष्ठले पदको दुरुपयोग गर्दै अकुत सम्पत्ति आर्जन गरेको दाबीसहित अख्तियारले मुद्दा दर्ता गरेको थियो । उक्त अवैध सम्पत्ति जफत हुने पनि फैसलामा उल्लेख छ । अवैध ठहरिएको जति नै रकम उनले जरिवानाका रूपमा बुझाउनुपर्ने फैसलामा भनिएको छ ।

डा. श्रेष्ठ र उनकी श्रीमतीविरुद्ध अख्तियार दुरुपयोय अनुसन्धान आयोगले २०७२ फागुन २ गते १ करोड ६७ लाख ५७ हजार ११३ रुपैयाँ अवैध सम्पति आर्जन गरेको भन्दै विशेष अदालतमा मुद्दा हालेको थियो । श्रेष्ठका नाममा विभिन्न बैंकमा १३ वटा खाता रहेको पनि अख्तियारको अनुसन्धानबाट खुलेको थियो ।