विराटनगर– नक्कली छोरालाई नागरिकता बनाइदिने एक पक्राउ परेका छन् । विराटनगर–१ का ५५ वर्षीय सत्यनारायण पोद्दार पक्राउ परेका हुन् ।


ADVERTISEMENT


यसअघि पनि छोराको नागरिकता बनाउन जिल्ला प्रशासन पुगेका उनलाई नागरिकता शाखाका कर्मचारीले ख्यालख्यालमै सोधे, ‘कति छोरा छन्, सधैँ नागरिकता बनाउन आउनुहुन्छ ?’


ADVERTISEMENT

# # #


सत्यनारायण झस्किए, केही बोल्न सकेनन् । उनी अलमलिएको देखेपछि नागरिकता शाखाका कर्मचारीले सोधखोज गर्न थाले । फाइल पल्टाउँदै जाँदा त थाहा भयो, उनले नागरिकता लिन आएको सातौँ छोराका लागि रहेछ ।

मोरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीका अनुसार झुटो विवरण पेस गरेर नागरिकता बनाउन खोजेको पाइएको छ । ‘झुटो विवरण पेस गरी सिफारिस गराएर नागरिकता लिने प्रयास गरेको पाइएपछि प्रहरीलाई अनुसन्धान गर्न परिपत्र गरिएको छ,’ सिडिओ केसीले भने ।

सत्यनारायणलाई प्रहरीले २४ असोजमा जिल्ला प्रशासन कार्यालयबाटै पक्राउ गरेको थियो । उनलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका एसपी मनोजकुमार केसीले बताए । – आजको नयाँ पत्रिका दैनिकबाट