काठमाडौं– सूचना प्रविधिको क्षेत्रमा उत्कृष्ट कार्य गर्ने सरकारी संस्थालाई जापानस्थित एशियन–ओसेनियन कम्प्युटिङ इन्डस्ट्री अर्गनाइजेसन (‘एसोशिओ) ले प्रदान गर्ने ‘एसोशिओ-२०१८ डिजिटल गभरमेन्ट अवार्ड’ नेपाल प्रहरीले हात पारेको छ ।


ADVERTISEMENT


जापानको टोकियोस्थित ‘ए एन ए इन्टरनेशनल होटेल’मा कात्तिक २२ गते आयोजित एसोशिओ सम्मेलनमा कम्प्युटर एसोसियसन नेपाल महासंघका कार्यकारी सदस्य डा. अभिजित गुप्ताले एसोशिओका अध्यक्ष डा. डेभिट वोङबाट उक्त अवार्ड ग्रहण गरेका थिए । गुप्ताले ग्रहण गरेको उक्त अवार्ड बुधबार प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोह बीच प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई हस्तान्तरण गरेका छन् ।


ADVERTISEMENT

# # #


उक्त संस्थाले एसोशिओ उत्कृष्ट कम्पनी, उत्कृष्ट प्रयोगकर्ता संगठन, ‘डिजिटल गभरमेन्ट’ र ‘आइसीटी एजुकेशन’ गरी चार विधामा पुरस्कार प्रदान गरेको थियो । जसमध्ये नेपालले ‘डिजिटल गभरमेन्ट’ अवार्ड प्राप्त गरेको हो । यी अवार्डहरु एशिया– ओशियानिया क्षेत्रमा सूचना प्रविधिको क्षेत्रकै अत्यन्त प्रतिष्ठित अवार्ड मानिन्छन् ।

सदस्य राष्ट्रहरुबीच आइसिटी इन्डस्ट्रीलाई प्रवर्द्धन गर्दै आपसी तथा व्यापारिक सम्बन्ध बलियो बनाउने उद्देश्यले जापानमा सन् १९८४ मा एसोशिओ स्थापना भएको हो । यस संस्थामा एशिया र ओशियानियनका २४ राष्ट्रहरूको ‘आइसीटी एशोसियसन’ हरुबाट प्रतिनिधित्व रहेको छ भने १० हजार भन्दा बढी आइटी कम्पनीहरु यसमा आवद्ध रहेका छन् ।

एशिया र ओशियानियन अन्तर्गतका २४ राष्ट्रहरूमा अष्ट्रेलिया, वंगलादेश, भुटान, ब्रुनाई, कम्वोडिया, हङकङ, भारत, इन्डोनेसिया, जापान, लाओस, मकाउ, मलेशिया, मंगोलिया, म्यानमार, नेपाल, न्यूजिल्यान्ड, पाकिस्तान, फिलिपिन्स, सिंगापुर, दक्षिण कोरिया, श्रीलंका, ताइवान, थाइल्याण्ड र भियतनाम छन् ।

यसअघि २०७५ भदौ १ गते लिभिङ विथ आइसिटीको आयोजनामा ‘नेटगियर आइसिटी अवार्ड २०१८’ अन्तर्गत नेपाल प्रहरीले डिजिटल गभर्नेन्स अवार्ड २०१८ प्राप्त गर्न सफल भएको थियो । सूचना प्रविधिको उच्चतम प्रयोग गरेको आधारमा नेपाल प्रहरीले उक्त अवार्ड प्राप्त गरेको हो ।