विराटनगर– नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले कोइराला परिवार पहिलेदेखि अहिलेसम्म र भोलिका दिनमा पनि एकजुट भएर जनताको सेवामा लाग्ने उनले बताएका छन् ।


ADVERTISEMENT


विराटनगर कोइराला निवासस्थित जिपी फाउण्डेशन प्रदेश नं १ कार्यालयको आज  महामन्त्री डा शशाङ्क कोइराला र फाउण्डेशनका केन्द्रीय सभापति सुजाता कोइरालासंग संयुक्तरुपमा उद्घाटन गर्दै केन्द्रीय सदस्य कोइरालाले पार्टीको उज्ज्वल भविष्य निर्माण गर्न एकताको विकल्प नरहेको र यसैको माध्यमबाट देशको विकास हुने कुरामा जोड दिए ।


ADVERTISEMENT

# # #


उनले विगतमा काङ्ग्रेसका नेता गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा रहेको सरकारबाट धेरै परिवर्तनका काम भएको स्मरण गराउँदै कोइराला परिवारका तीनै जना नेता एक रहेको स्पष्ट पारे । ‘हामी तीन जना कोइरालाहरु राजनीति गर्दैछौं। तर तीन तिर फर्केका छौं भन्ने तपाईहरुलाई लागेको होला,’ शेखरले भने, ‘आजको कार्यक्रमले तपाईको भ्रम अलिकति भने पनि निवारण भयो।’

वीपी, गणेशमान, गिरिजा र सुशील कोइरालाको सपना पूरा गर्न कोइरालाहरु एक ठाउँमा उभिने उनले बताए। पार्टीको १४ औं महाधिबेशनमा सभापति उठ्ने चर्चा रहेका शेखरले थपे, ‘वीपीदेखि सुशीलसम्म, उहाँहरुले हिँडेको बाटो पछ्यायौं भने कांग्रेसको भविष्य उज्वल हुन्छ।’

यस्तै जिपी फाउण्डेशनकी सभापति सुजाताले काङ्ग्रेसको पहिचान समाजवाद, राष्ट्रियतालाई कसैले पनि बिर्सन हुँदैन भन्दै जननायक नेता बिपी कोइरालाको सपना पूरा गर्न सहमति, सहकार्य र एकताको खाँचो रहेको औल्याइन् ।

कार्यक्रममा जिपी फाउण्डेशन प्रदेश नं १ का सभापति इन्दिरा थापा, काङ्ग्रेसका नेता अमृत अर्याल, हसन अन्सारी, पदमनारायण चौधरी, सांसद सीताराम मेहता, रञ्जीत कर्ण, विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली, नेपाली काङ्ग्रेस मोरङका सभापति डिकबहादुर लिम्बूले बोलेका थिए । कार्यक्रम स्थलमा नेपाली राजनीतिका शिखर पुरुष पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको तस्बीर पनि प्रदर्शनमा राखिएको थियो ।

फाउन्डेशनले नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालासहित केन्द्रीय सदस्यद्वय शेखर र सुजातालाई एउटै माला पहिर्याइएर स्वागत गरेका थियो।