दार्चुला– एक महीना लगाएर जुम्लाबाट दार्चुलाको जौलजीवि मेलामा ल्याइएका जुम्ली घोडाको व्यापार घटेको छ । दशैँ टीका लगाएर जुम्लाबाट हिँडेका घोडा व्यापारी जौलजीवि पुगेपछि घोडा खरीद गर्ने ग्राहक नआउँदा निराश छन् ।


ADVERTISEMENT


विगतमा सयौँ घोडाको व्यापार हुँदै आएको जौलजीवि मेलामा गाउँगाउँसम्म सडक पहुँच पुग्नु तथा युवामा घोडाप्रति आकर्षण हुन नसक्दा हरेक वर्ष घोडाको व्यापार घटेको हो ।


ADVERTISEMENT

# # #


जौलजीवि मेलाको आकर्षणको रुपमा घोडाको कारोवार यस वर्ष भएको छैन । हरेक वर्ष जुम्ला र बाजुराबाट जौलजीवि मेलामा घोडाको कारोवार हुने गरेको छ । जुम्ला र बाजुरा जिल्लाबाट मेलामा पुर्याइएका घोडा विगतमा पहाडी जिल्लामा राम्रो व्यापार हुँदै आएको थियो, चन्दननाथ नगरपालिका–८ जुम्लाका घोडा व्यापारी जयबहादुर रोकायाले भने, “पहाडसम्मै गाडी पुग्नु, हरेक वस्तुको महँगाइ बढेको कारण घोडा व्यापार सुस्ताएको छ । यस पटक जुम्ला र बाजुराबाट तीन दर्जन बढी घोडा मेलामा पुर्याइएको छ ।

एक महीना लगाएर घोडा बिक्री गर्न आए पनि अहिलेसम्म तीन चार जना भारत अल्मोडाका स्थानीय घोडा हेर्न मात्रै पुगेका छन् । जुकोट–३ बाजुराका सत्यराज शाही घोडाको कारोवार नभएको चिन्तित छन् । हाम्रा बाजेबुबाको समयदेखि जौलजीवि मेलामा घोडा व्यापार गर्न शुरु गरेका हौ । जौलजीवि मेलामा मात्रै विगतमा ५०६ घोडाको व्यापार सजिलै हुन्थ्यो, उनले भने, “तर दुई चार वर्षयता घोडाको व्यापार कम हुँदै आएको छ ।”

बाटोमा घोडाको लागि चाहिने दाना घाँस महँगो हुँदै गएको छ । गत विगतसम्म रु १० पुला घाँस घोडाको लागि पाइन्थ्यो, अहिले ५० भारु पर्छ । सबैमा महँगी बढ्यो तर हाम्रो घोडाको ३५ हजार भारुमा बिक्री पनि हुँदैन । यो मूल्य नै बढी भयो भन्छन्, शाहीले भने, “लागत मूल्य नै नआएपछि कसरी घोडाको कारोवार गर्नु । जौलजीविको मेला घोडे मेलाको रुपमा पनि जुम्ली घोडाले चिनाएको हो ।”

बाजुराकै ६४ वर्षीय भरतबहादुर शाहीले दार्चुलाको जौलजीवि मेलामा घोडाको व्यापार गरेको ४० बढी वर्ष भयो । हाम्रा बाजे बुबाले घोडाको व्यापार गर्न सिकाए । हाम्रो पुस्तासम्मले परम्परागत घोडा व्यापार छोडेका छैनौँ, तर यस्तै व्यापार सुस्तायो भने आगामी वर्षदेखि घोडा व्यापारको लागि दार्चुला आइँदैन ।

हुम्ला जुम्लामै रु डेढ दुई लाखमा घोडा बिक्री हुन्छ तर यहाँ आएपछि ३० देखि ४० हजार भारुमा पनि बिक्री हुन मुस्किल भयो उनले भने । बाटोभरि घाँस दानाको महँगी भयो, घोडा राख्ने ठाउँमा स्थानीयले भाडा बढाए । यस्तो अवस्थामा परम्परा धान्न सकिँदैन, उनले दुखेसो गरे ।

जुम्ली घोडा नेपाल भारतका पहाडी क्षेत्रका स्थानीयले खरीद गरेर लिने गरेका थिए । अहिले सडक पहुँच पुगेसँगै कारोवार पनि कमी भएको हुनसक्ने शाही सुनाउँछन् । पहिले गाउँमा सडक नपुगेको बेला घोडा किन्न ग्राहकको भीड लाग्थ्यो । तछाडमछाड नै चल्थ्यो, घोडा हेर्न, मूल्य पनि राम्रै पाइन्थ्यो, तर अहिले घोडा पुर्याई सक्यौँ, कोही आउँदैनन् ।

जुम्ली घोडा पहाडी क्षेत्रमा समान ढुवानी र चढ्नको लागि राम्रो मानिन्छ । अन्यभन्दा पनि चिसो ठाउँमा हुर्केका घोडा पहाडी क्षेत्रमा बचाउन सकिन्छ, भारत अल्मोडा चौखिट्टाका स्थानीय हिक्मत सिंहले भने । घोडा खरीद गर्नको लागि आएका हौँ तर अहिले घोडाको मूल्य धेरे बढ्यो ।

अल्मोडाको उच्च पहाडी क्षेत्रको लागि जुम्ली घोडा राम्रो हुने गरेकाले यहाँ आएका हौँ । विगतमा यही क्षेत्रमा आएर लगेका घोडा राम्रा छन् । घोडा लिन भारतीय बजार जौलजीविसम्म ट्रक ल्याएरै आएका छौँ तर मूल्य बढी छ । एक दुई दिन हेछौँ मूल्य मिल्यो भने घरको लागि घोडा लिन्छौँ ।

पहाड चढ्नको लागि भारतको हल्दानीमा पाइने घोडाभन्दा जुम्ली घोडा राम्रो छ, अर्का भारतीय नागरिक कैलाश जोशीले भने, ‘घोडाको आयु मान्छेकै जस्तै हो । जीवनमा एउटा घोडाको सहारा बनाउ भनेर आएका छौँ । पहिलो १५÷२० हजार भारुमा घोडा सजिलै मिल्थ्यो । तर व्यापारीले महँगो मूल्य भन्दैछन् ’ उनले भने ।

मालिकार्जुन गाउँपालिका–७ उकु जौलजीविका स्थानीय शेरसिंह खत्री विगतको तुलनामा घोडाको व्यापार नभएको बताउँछन् । हरेक वर्ष मेरो जमीनमा घोडा राखेर व्यापार गर्छन् । पहिले ५०६ घोडा यहाँ आउँथे । पूरै बगरमा घोडाले भरिन्थ्यो, अहिले हेर्नुस् केही छैन । घोडा खरीद गर्ने मान्छे छैनन् । सडक पुग्यो, गाडी मोटर साइकल किन्नतिर मान्छे लागे ।

१० साल अघिसम्म घोडाप्रति स्थानीयको आकर्षण थियो । बूढापाका अहिले पनि घोडामा सोखिन हुन्छन्, तर युवा पुस्तामा घोडा प्रतिमोह छैन । जसको कारण पनि घोडाको व्यापार कमी आएको उनको भनाइ छ । नरेन्द्रसिह कार्की/रासस