काठमाडौँ– शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज तीनवटा खेल हुँदैछन् ।


ADVERTISEMENT


आज पहिलो खेल एन्फा मैदान सातदोबाटोमा ब्रिगेड ब्वाइज क्लब र सशस्त्र प्रहरीको एपिएफ क्लबबीच हुनेछ । अर्को खेल सोही मैदानमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच हुनेछ । तेस्रो खेल हल्चोकस्थित सशस्त्र प्रहरी बलको खेल मैदानमा मछिन्द्र क्लब र सङ्कटा क्लबबीच हुनेछ ।


ADVERTISEMENT

# # #


ब्रिगेड ब्वाइज अघिल्लो दुई खेलमा पराजित हुँदै लिग अङ्क तालिकाको पुछारमा छ, भने एपिएफ एक जीत र एक बराबरीका साथ चार अङ्क जोड्दै तालिकाको सातौँ स्थानमा छ ।

यस्तै आजै हुने अर्को खेलमा दिउँसो २ः३० बजे हुने दोस्रो खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब तीन अङ्कका लागि भिड्नेछन् । दुबै टिमले लिगमा एक जीत र एक बराबरी खेलेका छन् र समान चार÷चार अङ्क जोड्दै क्रमशः लिगको सातौँ र आठौँ स्थानमा छन् ।

घरेलु फुटबलमा पुलिस क्लब बलियो टोली हो । युवा खेलाडीको आगमनसँगै प्रभावशाली प्रदर्शन गर्दै आएको पुलिसले यसपटक लिग उपाधिलाई लक्ष्य बनाएको छ ।

पुलिसका प्रशिक्षक अनन्त थापाले पुलिसको लक्ष्य उपाधि भएको बताइसकेका छन् । यता राष्ट्रिय टोलीका मुख्य खेलाडी नवयुग श्रेष्ठ, जर्ज प्रिन्स कार्की, विकेथ कुथु, भरत खवासलगायत खेलाडीले भरिएको आर्मीले समेत घरेलु फुटबलमा आफ्नो वर्चस्व स्थापित गर्ने दाउमा छ ।

अहिलेसम्म आर्मीले लिगको उपाधि जित्न सकेको छैन । पुलिसले भने छ पटक ‘ए’ डिभिजन लिगको उपाधि उचालेको छ । सङ्कटा भने अपराजित टोली हो । यसअघिका दुई खेलमा जीत निकालको सङ्कटा तालिकाको तेस्रो स्थानमा छ । मछिन्द्र एक जीत र एक बराबरीका साथ चार अङ्क जोड्दै तालिकाको छैटौँ स्थानमा छ ।