काठमाडौँ, ९ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनअन्तर्गत अध्यक्ष पदका लागि मतदान सम्पन्न भएको छ ।


ADVERTISEMENT


पार्टीका प्रवक्ता राजाराम श्रेष्ठका अनुसार कुल मतदाता तीन हजार २८७ रहेकामा तीन हजार १२१ मत खसेको छ । महाधिवेशनमा अध्यक्ष पदका लागि कमल थापा र प्रदीपविक्रम राणाले उम्मेदवारी दिएका थिए । आजबाट नै मत गणना सुरु गरिनेछ ।


ADVERTISEMENT

# # #


निर्धारित समयभन्दा करिब छ घन्टापछि निर्वाचनको प्रक्रिया सुरु भएको थियो । निर्वाचन समितिका संयोजक निरञ्जन थापाका अनुसार उम्मेदवारका अन्तिम नामावली प्रकाशन गर्न नसकिएकाले आज बिहानबाट हुनुपर्ने भनिएको मतदानको कार्यतालिकाअनुसार हुन नसकेको हो । बिहान ७ बजेदेखि साँझ ५ बजेसम्मका लागि मतदानको समय निर्धारण गरिएको थियो ।

भृकुटीमण्डपस्थित बगैँचामा पार्टी अध्यक्ष पदका लागि मतदानको व्यवस्था गरिएको थियो ।

पार्टीका नेता सुशील श्रेष्ठका अनुसार प्रतिनिधि छनोटका विषयमा आन्तरिक विवादसमेत आएकाले मतदाताको कार्ड बनाउन नसकिएकाले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी मतदानको व्यवस्था गर्न समय लागेकाले मतदान ढिलो भएको हो ।

मङ्गलबार बिहान ९८ पदको केन्द्रीय सदस्यका लागि राष्ट्रिय सभागृहमा मतदानको व्यवस्था मिलाइएको छ । केन्द्रीय सदस्यका लागि ३६३ जनाले उम्मेदवारी दिएका छन् ।

पार्टीको विधानअनुसार १६३ सदस्यीय केन्द्रीय समितिको ६० प्रतिशत (९८ पद)का लागि निर्वाचन हुन लागेको छ । बाँकी ४० प्रतिशत सदस्य क्षेत्र, भूगोल, विशेषज्ञताका आधारमा पार्टी अध्यक्षले मनोनयन गर्ने व्यवस्था छ । पार्टीका पूर्वअध्यक्षलाई मानार्थ केन्द्रीय सदस्य बनाइनेछ ।

पार्टीका नेता किरण गिरीले महाधिवेशनको अवधि निर्धारित समयभन्दा एक दिन लम्बिएको जानकारी दिए । यही फागुन ६ गतेदेखि ९ गतेसम्म महाधिवेशनको कार्यतालिका राखिएको थियो ।