काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले धर्म प्रचारका लागि आइएनजिओले आयोजना गर्न लागेको कार्यक्रमको सहआयोजक नेपाल सरकार र संघीय संसद हुन लागेकोप्रति आपत्ति जनाएको छ।


ADVERTISEMENT


यही मंसिर १५ र १६ गते काठमाडौँको ह्यात होटलमा हुन लागेको ‘एसिया प्यासिफिक समिट–२०१८’ मा सरकार र संसद सहआयोजक भएको निम्तोपत्र बाँडिएपछि कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पत्रकार सम्मेलन गरेर आपत्ति जनाएका हुन्।


ADVERTISEMENT

# # #


कार्यक्रमको आयोजक ‘युनिभर्सल पिस फेडेरेशन’ नामक आइएनजिओ रहेको छ। कार्यक्रममा ‘हाम्रो समयको संवेदनशीलताः चुनौती, स्वतन्त्रता, सामूहिक समृद्धि र विश्वव्यापी मान्यता’ भन्ने विषयवस्तुमाथि छलफल हुने आयोजकले वितरण गरेको निमन्त्रणा पत्रमा उल्लेख गरिएको छ।

कांग्रेस प्रवक्ता शर्माले कार्यक्रमको उद्देश्य क्रिश्चियन धर्म प्रचार गर्नु रहेको चर्चा भएकाले सरकारसँग यसको जवाफ मागेका हुन्।

‘धर्म प्रचार गर्ने आइएनजिओको सहआयोजक सरकार बस्न मिल्छ? धर्मनिरपेक्ष राष्ट्रको सरकार आफैँ धर्म प्रचारमा सहभागी हुनु आपत्तिजनक छ, यो कांग्रेसका लागि सह्य हुँदैन,’ प्रवक्ता शर्माले भने।

कञ्चनपुरकी बालिका निर्मता पन्तको हत्या पत्ता लगाउन उदाशिन सरकार धर्म प्रचार गर्न वितरित निम्तोपत्रमा भेटिनु नेपाल देशकै लागि खतरताको संकेत रहेको टिप्पणी प्रवक्ता शर्माले गरेका छन्।


सार्वजनिक रुपमा बाँडिएको निम्तो पत्र ।
शर्माले पत्रकार सम्मेलनमा भने, ‘प्रश्न सत्ता र प्रतिपक्षको होइन, प्रश्न नेपाल देशको हो, सरकार आफैँ आइएनजिओको सहआयोजक भएर धर्म प्रचारमा लागेको छ, के अब नेपाल सरकार आइएनजिओ मातहत पुगेको हो?’

कार्यक्रममामा नेकपाका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल प्रमुख अतिथिका रुपमा सहभागी हुँदैछन्। कार्यक्रमको अर्को सहआयोजकमा एसियाका राजनीतिक पार्टीको संगठन आइक्याप पनि रहेको छ।

भारतमा अर्को वर्ष हुने आम चुनावमा भारतीय जनता पार्टी (भाजपा) विरुद्ध धर्मनिरपेक्ष गठबन्धनलाई एउटै मञ्च उभ्याउने अप्रत्यक्ष उद्देश्यसहित कार्यक्रम हुन लागेको हो।

भारतको आगामी चुनावमा भाजपाविरुद्धको धर्मनिरपेक्ष गठबन्धनका सम्भावित नेता तथा त्यहाँका पूर्व प्रधानमन्त्री देवगौडालाई सम्मेलनको अध्यक्षता गर्न निम्तो पठाइएको आयोजक स्रोतको दावी छ।

नेपालमा २०६२/०६३ को परिवर्तनमा धर्मनिरपेक्ष तथा गणतन्त्रको पक्षमा युनिफिकेशन चर्चसँग आबद्ध संस्थाहरुले आर्थिक सहयोगसँगै खुला प्रचार गरेका थिए।