• पार्टीको महाधिवेशन घोषणा भइसकेको र चार महिना मात्रै बाँकी रहेको अवस्थामा त्यसको तयारी गर्नुपर्ने थियो । द्रुत गतिमा सदस्यता वितरण गर्नुपर्ने बेला थियो । यस्तो बेलामा संयोजक फेर्ने निर्णय गर्नु आपत्तिजनक हो । यसले हामीलाई संशय पैदा गरेको छ । कतै पार्टीलाई महाधिवेशन नगराउने खेल त होइन ?
  • महेन्द्र यादवजीले आपत्तिजनक तथा घृणित शब्दमा अन्तर्वार्ता दिनुभएको छ । निष्ठाका केन्द्र महन्थ ठाकुरमाथि उहाँले आरोप लगाउनु भएको छ । उहाँले कि त आफुले भनेको कुराहरुको प्रमाण दिनसक्नु पर्यो, नत्र पार्टीले महेन्द्र यादवलाई कारबाही गर्नुपर्छ ।
  • जब म संघर्षमा जान्छु मेरो जात सोधिँदैन । जब मेरो हात खुट्टा भाँचिन्छ, जेलमा जान्छु, मेरो जात सोधिँदैन । आज मेरो नियुक्ती हुँदा एउटा जात विशेषलाई गाली गर्नु भनेको दुखद् हो । राजपा जोगाउनुपर्ने चिन्ता बढी छ, सुरेन्द्र झा ठूलो कुरा होइन ।
  • स्वेच्छाचारिता, व्यक्तिवादी र अध्यक्षमण्डलका केही साथीहरुको विगतको पृष्ठभूमिले उहाँहरुलाई माथि उठ्न दिइराखेको छैन । यो एउटा दूर्भाग्य हो । यदि उहाँहरु माथि उठ्न सक्नु भएन भने पार्टी कार्यकर्ताको भेलले बगाएर लान्छ ।

मधेश केन्द्रित दल राष्ट्रिय जनता पार्टी (राजपा)ले भर्खरै चक्रिय प्रणाली अनुसार भन्दै अध्यक्ष मण्डलको संयोजक तोकेको छ । पार्टीका वरिष्ठ नेता महन्थ ठाकुर को ठाउँमा  राजेन्द्र महत्तो संयोजक बनेको भन्दै प्रेस वक्तव्य जारी गरियो ।  पार्टीको पहिलो एकता महाधिवेशनको मिति तोकिसकेको अवस्थामा नयाँ संयोजक तोक्नु पछाडीको कारण के हो ? संयोजक तोकिसकेपछि पार्टीभित्र  विवाद किन बढ्यो ? अबको राजपा कसरी अगाडी बढ्छ ? लगायतका विषयमा  बौद्धिक नेताका रुपमा समेत चिनिएका राजपाका सह-महामन्त्री डा. सुरेन्द्र झासंग हिमालय पोष्टले गरेको कुराकानीको सम्पादित अंश :


ADVERTISEMENT


राजपामा अहिले नयाँ नेतृत्व भन्दै महन्थ ठाकुरको ठाउँमा राजेन्द्र महतो आउनु भएको छ । किन एकाएक नेतृत्व परिवर्तन गर्नुपर्ने अवस्था आइलाग्यो ?


ADVERTISEMENT

# # #


आदरणीय नेता महन्थ ठाकुरको अगुवाईमा राजपा निर्माण भएको हो । यसको निर्माणका आधारहरु केथिए भने मधेश आन्दोलनमा शाहदत भएका शहिदहरुको सपना र मधेसी जनताको भावना । यी दुई बुँदाहरुलाई टेकेर पार्टी एकता भएको हो । भावनात्मक रुपमा ६ वटै पार्टी साना ठूलो जे भएपनि सबै पार्टीका अध्यक्षहरुलाई अध्यक्ष मण्डलको सदस्य बनाएर एकता गरिएको थियो ।  जेष्ठता र अग्रज नेताको हिसाबले एकतापछि पनि महन्थ ठाकुरले नै राजपाको नेतृत्व गर्नु भयो । उहाँकै नेतृत्वमा पार्टी दर्ता गराएर निर्वाचनमा भाग लिने र प्रदेश २ मा आफ्नै गठबन्धनको सरकार निर्माण गर्नु र केन्द्रमा १७ सांसद विजयी भएर संसदमा प्रभावशाली ढंगले प्रस्तुत हुनु आफैमा उपलब्धी हो ।

अहिले पार्टीको एउटा कार्यकारी विधानलाई टेकेर महाधिवेशनको मिती आउँदो बैशाख ६,७ र ८ गतेलाई तोकेका छौँ । यी काम उहाँको नेतृत्वमा भइराखेको थियो । हठात् , चार दिनअघि अध्यक्ष मण्डलको संयोजक परिवर्तन भएको छ । त्यो बैठक हुँदा महेन्द्र राय यादवले पार्टी नेतृत्वलाई चक्रिय प्रणालीमा लानुपर्ने भनेपछि त्यसलाई शरदसिंह भण्डारीले पनि समर्थन गर्नुभयो । अन्य केहीको असहमती हुँदाहुँदै पनि महन्थजीले सहजै रुपमा स्वीकार गर्नु भएपछि तुरुन्तै एक पेजको विज्ञप्ती ल्याएर उहाँलाई हस्ताक्षर गर्न लगाइयो । त्यसपछि बाध्य भएर उहाँले संयोजक छोड्नु भएको हो ।

संयोजक परिवर्तन प्रति तपाईको आपत्ति हो ?

चार बुँदा रहेको त्यो विज्ञप्तीको भाषा शैली आपत्तिजनक छ। जसमा पहिलो बुँदामा पार्टी विधान अनुसार अध्यक्ष मण्डलको नेतृत्वलाई चक्रिय प्रणाली अनुसार सञ्चालित गर्ने बहुमतबाट निर्णय गरियो भनेर लेखिएको छ । महन्थ ठाकुर नेतृत्वमा भएकैले संविधान संशोधन नभएको जस्ता सबै दोष उहाँको टाउकोमा बिसाइयो ।  तर वास्तविकता के हो भने पार्टीको विधान अनुसार चक्रीय प्रणाली दुई महिनाको हो । महन्थजीको दुई महिना सकिसकेपछि राजेन्द्र महतोलाई आफ्नो जिम्मेवारी लिनुस् भन्दा उहाँले तपाईँ नै चलाउनुस् भन्नुभएको थियो । अहिलेको अवस्थामा हामीले प्रधानमन्त्रीलाई छठसम्म अल्टिमेट दिएका थियौँ । पार्टीको महाधिवेशन घोषणा भइसकेको र चार महिना मात्रै बाँकी रहेको अवस्थामा त्यसको तयारी गर्नुपर्ने थियो । द्रुत गतिमा सदस्यता वितरण गर्नुपर्ने बेला थियो । यस्तो बेलामा संयोजक फेर्ने निर्णय गर्नु आपत्तिजनक हो ।

यसले हामीलाई संशय पैदा गरेको छ । कतै पार्टीलाई महाधिवेशन नगराउने खेल त होइन ? संविधान संशोधनको मुद्दालाई कमजोर तुल्याउनका लागि महन्थ ठाकुरलाई कमजोर बनाउने शक्तिको मतियार बन्न त पुगेका छैनन् यी नेताहरु ? अर्को कुरा केन्द्रीय कार्यसमितिमा निर्वाचन आयोगमा दर्ता गरेपश्चात जे जति मनोनयन भएका छन्, त्यसलाई खारेजी गर्ने भन्ने निर्णय गरिएको छ । यो आफैमा विवादास्पद निर्णय हो । एउटा के भने, जो साथीहरुलाई एक किसिमको जिम्मेवारी दिएर हामीले पार्टीमा भित्र्यायौँ, त्यो खारेजी गर्दा यो पार्टीमा जतिबेला पनि निष्कासन हुन सकिन्छ भन्ने किसिमको सन्देश जान्छ । आज एउटा संयोजकले जारी गरेको यो निर्णयलाई भोलि अर्को संयोजकले खारेज गर्नसक्छ । यसले पनि राम्रो गर्दैन । यसमा कतै विदेशी शक्तिको चलखेल त छैन भन्ने हामीलाई लागेको छ । यसको हामी अध्ययन अनुसन्धान गर्छौँ । कीर्ते शैलीमा यो विज्ञप्ती ल्याइएको छ । लेटर काटेर फेरि टालेर, कतै प्रिन्ट, कतै हस्तलिखित छ । यस्तो किन गर्नु पर्यो ? पार्टीको स्वास्थ्यको लागि यो नराम्रो घटना हो ।

असहमति हुँदाहुँदै पनि जबरजस्ती संयोजक परिवर्तन गरियो भन्नु भयो । अब कसरी अगाडी बढ्नुहुन्छ ?

हाम्रो भनाई के हो भने, अध्यक्ष मण्डलको चक्रिय प्रणाली आदरणीय महन्थ ठाकुरले स्वीकार गरेर आउनु भएको छ । उहाँजस्तो लोकतान्त्रिक नेता, जसले आजको दिनसम्म पनि बारम्बार दोहोर्याउनु हुन्छ कि संगठनलाई जोगाउनुस्, पार्टीलाई जोगाउनुस् भनेर । ४५ बर्षभन्दा लामो राजनीतिक इतिहास भएका उहाँसंग लाखौँ मानिसको भावना जोडिएको छ । त्यस कारण इमान्दार, संघर्ष, आन्दोलनबाट आएका, युवा नेता कार्यकर्तालाई संरक्षण नगरिकन पार्टी जोगाउन सकिँदैन । पार्टीलाई पद्धतीमा लिएर जानुपर्यो भन्ने हाम्रो भनाइ हो । विधानसम्मत पार्टीको संयोजक परिवर्तन गर्नुपर्यो । संयोजक परिवर्तन ठूलो मुद्दा होइन, तर गलत प्रक्रियाबाट लिइएको निर्णयलाई सच्याउनु पर्छ । महेन्द्र यादवजीले आपत्तिजनक तथा घृणित शब्दमा अन्तर्वार्ता दिनुभएको छ । निष्ठाका केन्द्र महन्थ ठाकुरमाथि उहाँले आरोप लगाउनु भएको छ । यसको जति भत्सर्ना गरेपनि कम हुन्छ । उहाँले कि त आफुले भनेको कुराहरुको प्रमाण दिनसक्नु पर्यो, नत्र पार्टीले महेन्द्र यादवलाई कारबाही गर्नुपर्छ । उहाँले क्षमा माग्नुपर्छ ।

कारबाही गर्नलाई के आरोप लगाउनु भयो र महेन्द्र यादवले ?

उहाँले महन्थजीलाई एकल जातीय नेताको आरोप लगाउनु भएको छ । म उहाँलाई भन्न चाहन्छु, हाम्रो पार्टी राजपा बनेपनि मोर्चाको शैलीमा सञ्चालित छ । महेन्द्रजीले तीन वटा सीट पाउनु भएको थियो । उहाँ आफै यादव हुनुहुन्छ । राष्ट्रियसभामा अर्को यादवलाई पठाउनु भयो । प्रदेशसभामा अर्को यादवलाई मन्त्री बनाउनु भएको छ । तीनवटा कोटा पाउँदा तीनजना नै यादवलाई गर्नु भएको छ । यस्तो मान्छेले जातीवादको आरोप लगाउन मिल्छ ? महन्थ ठाकुरले समानुपातिकमा शहीदको आमालाई सांसद बनाउनु भयो । संघमा दलितलाई सांसद बनाउनु भयो । अर्को महिला नेतृलाई सांसद बनाउनु भयो । जुन उहाँसंग मिल्ने जात होइन । जितेन्द्र सोनललाई मन्त्रीसहित संसदीय दलको नेता बनाउनुभयो । जुन उहाँको सजातीय हुनुहुन्न । पाएँ भन्दैमा जेपनि आरोप लगाउन पाइँदैन । महेन्द्रजीलाई नेता बनाउने महन्थ ठाकुर हो । कता सहयोग गर्नु भएको छैन उहाँलाई ? महन्थ ठाकुर लिन होइन, मधेश र देशलाई केही दिन आउनु भएको हो । यस कारण महेन्द्रजीलाई कडा भन्दा कडा कारबाही हुनुपर्छ भन्ने हाम्रो माग हो ।

पार्टीबाट मनोनयनमा परेका सदस्यमध्ये तपाई पनि हुनुहुन्छ । यो विषयलाई विवादित बनाइएको छ । के भन्नुहुन्छ ?

राजपाको निर्णयबाट म प्रदेश २ को नीति आयोगको सदस्य भएको छु । मलाई के लाग्छ भने पार्टीको निर्णय मेरो लागि सर्वोपरि हो । पार्टीले निर्णय गर्दा न्याय संवत तरिकाले गर्नुपर्छ । आज मलाई जुन ठाउँमा पठाउनु भएको छ, मभन्दा अन्य कुनै साथीहरुलाई पठाउँदा निश्चित आधारहरु हुनुपर्छ । मभन्दा राम्रो साथीहरु पार्टीभित्र हुनुहुन्छ भने मलाई कुनै द्विविधा छैन । तर, यहाँ के देखिएको छ भने, जब म संघर्षमा थिएँ, ३–३ वटा मधेश विद्रोहको नेतृत्वकारी भूमिकामा रहेँ । म तत्कालिन पार्टी तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) को सहमहामन्त्री हो । जब म संघर्षमा जान्छु मेरो जात सोधिँदैन । जब मेरो हात खुट्टा भाँचिन्छ, जेलमा जान्छु, मेरो जात सोधिँदैन । आज मेरो नियुक्ती हुँदा एउटा जात विशेषलाई गाली गर्नु भनेको दुखद् हो । राजपा जोगाउनुपर्ने चिन्ता बढी छ, सुरेन्द्र झा ठूलो कुरा होइन ।

भविष्यमा पार्टी नेतृत्व गर्नसक्ने तपाईहरुजस्तो युवा नेताहरु हुनुहुन्छ । यो बेलामा तपाईहरुको भूमिका के हुन्छ ?

हामी पार्टीका सबै अध्यक्षमण्डलका सदस्यहरुलाई भेटेर यी विषयमा उहाँहरुको ध्यानाकर्षण गराउन चाहन्छौँ  की पार्टी तपाईहरु ६ जनाको मात्रै होइन, ६ जनाको जुधाईले पार्टी अहिले समस्यामा परेको छ । त्यसैले तपाईहरु मिल्नुस् । एकमत हुनुस् । पार्टीलाई एउटा लोकतान्त्रिक प्रक्रियाबाट अगाडी बढाऔँ । अधिवेशन समयमै गरेर जनताले दिएको मतादेश अनुसार आफ्ना एजेण्डा अगाडी बढाउनुपर्छ । यसमा हामी सबै नेताहरुलाई गम्भीर हुन आग्रह गर्छौँ । पार्टी भित्रको विविधतालाई सम्मान गर्न सक्यो भने पार्टीले गति लिन्छ । तर के भएको छ भने स्वेच्छाचारिता, व्यक्तिवादी र अध्यक्षमण्डलका केही साथीहरुको विगतको पृष्ठभूमिले उहाँहरुलाई माथि उठ्न दिइराखेको छैन । यो एउटा दूर्भाग्य हो । यदि उहाँहरु माथि उठ्न सक्नु भएन भने पार्टी कार्यकर्ताको भेलले बगाएर लान्छ । स्वीकार गर्न सकिँदैन ।

भनेपछि, महन्थ ठाकुरले नै राजपाको संयोजकत्व गर्नुपर्छ भन्ने तपाईको धारणा हो ?

त्यस्तो होइन । महन्थजी चक्रिय प्रणाली अनुसार संयोजक भएर यहाँ आउनुभएको छ । एक वर्ष आठ महिना उहाँले चलाउनु भयो । उहाँले कसैसंग मलाई पार्टी चलाउन देउ भनेर मागेको पनि होइन । अध्यक्ष मण्डलका सदस्यहरुले सर्वसम्मतीले राख्नु भएको हो । चक्रिय प्रणालीलाई निरन्तरता दिनुपर्छ भन्ने कुरामा हाम्रो आपत्ति छँदैछैन । रोलक्रममा आएका नेता बन्नसक्नुहुन्छ । तर सहज ढंगले, विधान अनुसार बन्नुपर्छ भन्ने हाम्रो भनाइ हो । महन्थजीले तिमीहरुले चलाउनै पाउँदैनौ भनेको भए एउटा कुरा । उहाँले त्यस्तो भनेको पनि छैन । कीर्ते गर्ने, लेटरहेड चोर्ने, सादा पेजमा विज्ञप्ती जारी गरेर नेतृत्व परिवर्तन गर्ने कुरा स्वभाविक होइन । यसैको लागि हामी तेस्रो ठूलो पार्टी भएका हौँ ? अलिकित आफ्नो मर्यादाको ख्याल गर्नुपर्दैन ? अराजकताको सीमा नाघ्नु भएन भन्ने हाम्रो भनाई हो ।

यसले महाधिवेशनको मितिलाई प्रभावित गर्ने कत्तिको सम्भावना छ ?

नेताहरुको चेत खुलेन भने निश्चित रुपमा प्रभावित हुन्छ ।