काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले विधान संशोधन मस्यौदामाथि आजदेखि छलफल शुरु गरेको छ ।


ADVERTISEMENT


मुलुक सङ्घीय संरचनामा गएपछि नयाँ बनेको संरचनाअनुसार पार्टीलाई लैजाने उद्देश्यका साथ विधान संशोधन समितिले तयार पारेको मस्यौदामाथि छलफल शुरु भएको हो ।


ADVERTISEMENT

# # #


पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा आज पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले प्रस्तावित विधानलाई अन्तिम रुप दिन छलफल शुरु गरेको हो ।

पार्टीको मङ्सिर २८ देखि पुस ३ गतेसम्म काठमाडौँमा हुन लागेको महासमिति बैठकमा राखिने विधानलाई अन्तिम रुप दिन काङ्ग्रेस छलफलमा जुटेको हो । पार्टी केन्द्रीय कार्यसमितिले पारित गरेको विधान संशोधन मस्यौदा महासमिति बैठकले पारित गरेपछि लागू हुनेछ ।

यही मङ्सिर ९ गते बसेको पार्टीको बैठकले विधान संशोधन मस्यौदा समितिले तयार गरेको प्रतिवेदन अध्ययनका लागि तीन दिनको समय दिएपछि आजको बैठक बोलाइएको हो । मङ्सिर ९ गतेको बैठकमा पार्टी महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको समितिले प्रतिवेदन पेश गरेको थियो ।

काङ्ग्रेस सहमहामन्त्री डा प्रकाशशरण महत संशोधनका लागि प्रस्ताव गरिएको मस्यौदामाथि दफावार छलफल गरिने बताए । “संशोधित मस्यौदाबाहेक राजनीतिक, आर्थिक र सङ्गठन प्रस्ताव बारेसमेत छलफल हुनेछ,” उनले भने । सबै प्रस्तावमाथि छलफल गरेर तोकिएको समयभित्र महासमिति बैठक सक्नेगरी गृहकार्य गरिरहेको उनको भनाइ थियो ।

आजको बैठकमा प्रस्तावित विधानबारे केन्द्रीय सदस्यहरु डा रामशरण महत, महेश आचार्य, दिलेन्द्रप्रसाद बडू, नवीन्द्रराज जोशी र प्रदीप पौडेलले आफ्नो धारणा राखेका थिए ।

बैठकमा बोल्ने नेताहरुले गाउँको कार्यकर्ताको भावनालाई समावेश गरेर विधान संशोधन गर्नुपर्ने धारणा राखेका थिए । काङ्ग्रेस नेता प्रदीप पौडेलले पार्टीमा युवालाई समावेश गर्नेगरी विधान संशोधन गर्नुपर्ने विचार राखेका थिए ।

संशोधन हुन लागेको विधानबारे छलफल गर्न बैठक शुक्रबार बिहान ११ बजे बोलाइएको छ ।