काठमाडौँ– काठमाडौँ महानगरपालिकाले विभिन्न ४१ स्थानमा पिसाब घर (युरिनल) निर्माण गर्ने भएको छ ।


ADVERTISEMENT


महानगरभित्र रहेका सार्वजनिक शौचालय अव्यवस्थित तथा फोहर भएर यात्रुले प्रयोग गर्न सक्ने स्थिति नरहेकाले महानगरपालिकाले व्यवस्थित र सफा शौचालय निर्माणको तयारीस्वरुप ४१ स्थानमा युरिनल निर्माण गर्न लागेको हो ।


ADVERTISEMENT

# # #


महानगरपालिकाको कार्यभार सम्हालेको केही दिनमै ‘क्लिन द सिटी’ अभियान सुरु गरेका महानगर प्रमुख विद्या सुन्दर शाक्यले अहिले व्यवस्थित शौचालय निर्माणको तयारी थालेको महानगरका प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिए ।

सडक यात्रुलाई लक्ष्य गर्दै चोकचोकमा युरिनल बनाउन लागिएको प्रवक्ता कार्कीको भनाइ छ । युरिनल निर्माणका लागि दुईवटा कम्पनीले आवेदन दिएका छन् । अहिले ती आवेदनको अध्ययन भइरहेका छ ।

कार्कीका अनुसार आवेदन दिएका कम्पनीहरुको अनुभव, कार्यदक्षतालगायतका पक्षको मूल्याङ्कन पछि उपयुक्त ठहरिएको कम्पनीलाई सो कामको जिम्मेवारी दिइने छ ।

महानगरपालिकाले उपत्यकाभित्र सार्वजनिक शौचालय निर्माणार्थ १०० स्थानमा सम्भाव्यता अध्ययन गरेको छ ।

घुम्ती शौचालय अव्यवस्थित र फोहर रहेको पाइएपछि हालै महानगरपालिकाले यस्ता शौचालय हटाएको थियो । यस्तो शौचालयको विकल्पमा महानगरपालिकाले १०० भन्दा बढी सार्वजनिक शौचालय निर्माणको तयारी थालेको हो ।