काठमाडौं । प्रमुख प्रतिपक्ष कांग्रेसले दुई तिहाइ समर्थनबाट बनेको प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार आर्थिक समृद्धिका यात्रा तय गर्न नसकेको निष्कर्षसाथ पार्टीको आर्थिक नीति र कार्यक्रम तयार पारेको छ।


ADVERTISEMENT


पार्टी सहमहामन्त्री प्रकाशरण महत नेतृत्वको समितिले तयार पारेको प्रतिवेदन मंगलबार केन्द्रीय कार्यसमिति बैठकमा प्रस्तुत गर्ने तयारी छ।


ADVERTISEMENT

# # #


मंसिर २८ देखि सुरु हुने महासमिति बैठकमा प्रस्तुत गर्नका लागि उपसभापति विमलेन्द्र निधिको नेतृत्वमा राजनीतिक र महत नेतृत्वमा आर्थिक लेखन समिति बनेको थियो।

महतको प्रतिवेदन प्रस्तुत गरेलगत्तै निधि नेतृत्वको समितिले पनि राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछ । यी दुवै प्रतिवेदन केन्द्रीय कार्यसमितिको बैठकमा छलफल हुनेछन् । केन्द्रीय सदस्यहरूको सुझावलाई समेत समावेश गरी परिमार्जित प्रतिवेदन महासमिति बैठकमा प्रस्तुत गरिनेछ।

सरकारको ९ महिनाको कार्यकालले आर्थिक समृद्धिका लागि आवश्यक पूर्वाधार र वातावरण निर्माण गर्नुको साटो उद्योग व्यवसायी र निजी क्षेत्रलाई हतोत्साही बनाउने काम भएको कांग्रेसको ठहर छ।

‘आफूले भनेअनुसार चल्ने उद्योग व्यवसायीलाई प्रोत्साहन गर्ने तर कानुनअनुसार चल्ने उद्योग व्यवसायीलाई नियन्त्रण गर्न खोज्ने सरकारको नीति देखिन्छ,’ महतले भने, ‘नौ महिनाको अवधिमा निजी क्षेत्रको लगानी घटेको छ । उद्योग क्षेत्र धारशायी अवस्थामा छन् । बाह्य लगानीको वातावरण छैन । सरकारको अनुदार र नियन्त्रणकारी नीतिका कारण पुँजी बिदेसिएको छ । सरकारको यस्तो नीतिले आर्थिक समृद्धि होइन, आर्थिक संकट ल्याउने खतरा छ।’

कांग्रेसले ल्याउने आर्थिक दस्ताबेजमा ओली नेतृत्वको सरकारको कमीकमजोरी र कांग्रेसले लिनुपर्ने आर्थिक नीति र कार्यक्रम समेटिएको छ। कांग्रेसले बढदो वामपन्थी मतलाई आफूतिर आकर्षित गर्न समाजवादी उन्मुख कार्यक्रमलाई समेत पछिल्लोपटक जोड दिएको छ।