धनगढी– प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको कार्यान्वयनका लागि स्थानीय तहको निर्वाचनमा काँग्रेस विजयी हुनुपर्ने बताएका छन्।


ADVERTISEMENT


धनगढी उपमहानगरपालिकाको फूलबारी र मनहेरामा आज छुट्टाछुट्टै रुपमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सभापति देउवाले स्थानीय तहको निर्वाचन संविधान कार्यान्वयनसँग सम्बन्धित भएकाले यो चुनावमा काँग्रेसले जित्नै पर्ने उल्लेख गरे ।


ADVERTISEMENT

# # #


प्रधानमन्त्री देउवाले जनताको अधिकारका लागि सात सालदेखि हालसम्म भएका परिवर्तनका आन्दोलनको नेतृत्व काँग्रेसले गरेकै कारण नेपाली जनता अधिकारसम्पन्न भएको उल्लेख गर्दै अहिलेको संविधान कार्यान्वयनका लागि पनि काँग्रेसलाई साथ दिन आग्रह गरे । प्रधानमन्त्री देउवाले भने, “प्रजातन्त्र टिकाउन र सुदृढीकरण गर्नका लागि काँग्रेसको विकल्प छैन ।”

विकासको दृष्टिकोणले देशका अन्य क्षेत्रभन्दा पछाडि परेको ७ नम्बर प्रदेशको समग्र विकासका लागि काँग्रेसले पहल गरिरहेको उनले उल्लेख गरे । प्रधानमन्त्री देउवाले गेटा मेडिकल कलेज निर्माणमा अवरोध गरेको भन्ने आफूप्रति लागेको आरोपको खण्डन गर्दै भने, “नमुना मेडिकल कलेज बन्नुपर्छ भन्ने व्यक्ति कसरी अवरोध गर्न सक्छ ।”

उनले गेटामा निर्माणाधीन गेटा मेडिकल कलेजलाई नमुनाको बनाउने, आयुर्वेदिक अस्पताल स्थापना गर्ने र औद्योगिक क्षेत्र निर्माण गर्ने दृढता व्यक्त गरे । उनले कैलालीको गौरीफन्टा भन्सार नाकालाई व्यवस्थित नाका बनाउन भारत सरकारसँग कुरा भएको बताए ।

प्रधानमन्त्रीले चुनावपछि चुनिएर आउने जनप्रतिनिधिमार्फत विकास निर्माणका काम हुने भएकाले यो चुनाव बिशेष महत्वको रहेको उल्लेख गर्दै काँग्रेस विजयी भए वृद्धभत्ता दोब्वर पार्ने, सात नम्बर प्रदेशको चमेलिया जलविद्युत आयोजना र पश्चिम सेती जलविद्युत आयोजनाको कार्यान्वयन गरिने बताए ।

पूर्व पश्चिम राजमार्गअन्तर्गत कैलाली कञ्चनपुरमा पर्ने २२ वटा पुल आफ्नै नेतृत्वको सरकारले निर्माण गरेको स्मरण गराउँदै उनले आगामी पाँचवर्षमा सात नम्बर प्रदेशका हरेक गाउँमा सडकलगायतका पूर्वाधारको विकास गरिने प्रतिबद्धता समेत व्यक्त गरे ।

नेपाली काँग्रेसका नेता डा प्रकाशशरण महतले काँग्रेसको नेतृत्वमा मात्रै मुलुकमा विकास र समृद्धि सम्भव रहेको बताए ।

अर्का नेता प्रदीप पौडेलले पहाडी अतिवाद र मधेसी अतिवादको चक्रव्युहमा अहिले देश फसेको उल्लेख गर्दै यसलाई जोड्दै सवै नेपालीबीच राष्ट्रिय एकता कायम गर्न काँग्रेसले मात्रै सक्ने बताए ।

सभामा काँग्रेसको तर्फबाट धनगढी उपमहानगरकापालिकाको प्रमुख पदका प्रत्यासी नृप ओड र उपप्रमुखका प्रत्यासी सुशीला मिश्र भट्ट, सांसदहरू पुष्करनाथ ओझा, प्यारेलाल राना, ईश्वरी न्यौपाने, बुद्धिसागर चौधरी, हीरादत्त भट्ट, जिल्ला सभापति नरनारायण शाहलगायतले बोलेका थिए ।

चौथो पटक प्रधानमन्त्री भएपछि पहिलो पटक धनगढी पुगेका देउवाले आजै कैलालीको अत्तरियामा आयोजित चुनावी सभालाई समेत सम्बोधन गरेका थिए ।