काठमाडौँ– नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा व्यवस्थापिका–संसद्का सदस्य महिन लिम्बूको अर्बुद रोगका कारण गए राति धरानमा निधन भएको छ ।


ADVERTISEMENT


धनकुटास्थित साबिकको बूढीमोरङ गाविस– २, तुमबारीमा बुबा रविलाल याखा र आमा धनरानीबाट विसं २०१४ चैत ११ गते जन्मिएकी लिम्बू त्यस क्षेत्रमा लोकप्रिय हुनाका साथै पार्टीकी प्रतिबद्ध नेत्री थिइन् ।


ADVERTISEMENT

# # #


विसं २०४९ मा उक्त गाविसको उपाध्यक्ष र २०५४ सालमा अध्यक्ष निर्वाचित भएर जनताको सेवा गरेकी लिम्बूले २०५५ सालमा गाविस राष्ट्रिय महासङ्घको अध्यक्ष निर्वाचित भई देशभरका गाविसलाई नीतिगत नेतृत्व प्रदान गरेकी थिइन् ।

विसं २०५३ देखि २०६१ सम्म तीन कार्यकाल पार्टीको जिल्ला कमिटी सदस्य र २०६२ मा कोसी अञ्चल समन्वय कमिटी सदस्य भएर पार्टीको जिम्मेवारी पूरा गर्नुभएकी लिम्बू २०६५ सालमा आठौँ राष्ट्रिय महाधिवेशनबाट वैकल्पिक केन्द्रीय सदस्य र २०७१ मा नवौँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएकी थिइन् ।

उनी २०७० सालमा समानुपातिकतर्फबाट संविधानसभा सदस्य बनेकी थिइन् । अखिल नेपाल महिला सङ्घका विभिन्न कमिटीमा रहेर काम गरेकी महिनले केन्द्रीय कमिटीको सचिव भएर पनि काम गरेकी थिइन्।

परिवारमा उनका पति, दुई छोरा र एक छोरी छन् । पार्टीका अध्यक्ष केपी शर्मा ओलीले आजै बिहान धरान पुगेर दिवङ्गत लिम्बूको पार्थिव शरीरमा पार्टीको झन्डा ओढाएर श्रद्धाञ्जलि दिनाका साथै शोकसन्तप्त परिवारजनलाई समवेदना दिएका छन्। उनको आजै धनकुटाको मूलघाटमा अन्त्येष्टि गर्ने कार्यक्रम छ ।

एमालेका महासचिव ईश्वर पोखरेलले आज शोक विज्ञप्ति जारी गरी लिम्बूको निधनबाट पार्टीले एक अनुभवी, अनुशासित र भरपर्दो नेता मात्र गुमाएको नभई जनताले असल जनसेवी अभिभावक गुमाएको जनाएका छन् । रासस