काठमाडौं । नयाँ प्रधानन्यायाधीश सिफारिस गर्न संवैधानिक परिषदको बैठक आज बिहान ११ बजे बस्ने भएको छ । यसअघि यही मंसिर १७ गते बैठक बसेपनि सिफारिसको निर्णय नगरी बैठक सकिएको थियो । अर्को बैठक २२ गते बस्ने भनिएकोमा प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवा पार्टी बैठकमा व्यस्त हुनुपरेको र प्रधानन्यायाधीश ओमप्रकाश मिश्र समेत उपत्यका बाहिर जानु भएका कारण आज बस्ने तय भएको प्रधानमन्त्री निकट स्रोतले बताएको छ ।


ADVERTISEMENT


प्रधानन्यायाधीश मिश्रले आगामी पुस १७ गते उमेर हदका कारण अवकाश पाउने र नयाँ प्रधानन्यायाधीश एक महिना अघि नै सिफारिस गर्नुपर्ने संवैधानिक प्रावधान अनुसार यसअघि मंसिर १७ गते बैठक डाकिएको हो । आजको बैठक त्यसैको निरन्तरता रहेको बताइएको छ ।


ADVERTISEMENT

# # #


न्यायपरिषद्ले यसअिघ नै प्रधानन्यायाधीशका लागि दीपकराज जोशी र चोलेन्द्र शमसेर जबराको नाम सिफारिस गरेको थियो । जोशी यस अघि संसदीय सुनुवाई समितिबाट अस्वीकृत भएपछि अहिलेका प्रधानन्यायाधीश मिश्रको नाम सिफारिस गरिएको थियो ।

प्रधानन्यायाधीशमा सिफारिसका लागि सर्वोच्च अदालतमा तीनवर्ष न्यायाधीश भइसकेको व्यक्ति हुनुपर्ने संवैधानिक प्रावधान रहेको छ । तीन वर्ष सर्बोच्चमा काम गरेका अहिले राणा र जोशी मात्रै छन् ।

प्रधानन्यायाधीश सिफारिस गर्ने संवैधानिक परिषदमा प्रधानमन्त्री अध्यक्ष तथा सदस्यहरुमा प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रतिनिधिसभामा प्रतिपक्षी दलका नेता, प्रतिनिधिसभाका उपसभामुख र कानुनमन्त्री रहने प्रावधान रहेको छ ।