विदुर– चरम गरीबीले पिल्सिएका विदुर नगरपालिका–५ का २७ वर्षीय बालकृष्ण पनेरुले जीवनमा धेरै हण्डरहरु बेहोर्नुपर्यो । सानो छँदा नै घरको मियोका रुपमा रहेका बाबुको मृत्युपछि गाउँमा मेला, मजदूरी गर्दै माध्यमिक तहसम्मको शिक्षा पूरा गरेका पनेरुले एसएलसीपछि उच्च शिक्षा अध्ययन गर्न धेरै कष्ट उठाउनुपर्यो । घरको जेठो छोरो भएपछि घर परिवारको सम्पूर्ण जिम्मेवारी उनकै काँधमा आइपर्यो ।


ADVERTISEMENT


स–साना भाइबहिनीको पनि पालनपोषण गर्नुपर्ने अर्को बाध्यता थियो । घरको कमजोर आर्थिक अवस्थाकै कारण स्वदेशमा मेला मजदूरीले परिवार पाल्ने धौ–धौ हुने देखेपछि ऋणधन गरेर अन्ततः उनी विदेश पलायन भए । तर, राम्रो कमाउने अनि सुखसँग परिवार पाल्ने सपना बुनेर खाडी मुलुक छिरेका पनेरुले त्यहाँ ६ वर्षसम्म बस्दा पनि सोचेजस्तो कमाउन सकेनन् । बरु, गाउँमै फर्केर केही काम गर्ने अठोट उनको मनमा जाग्यो । ऋण लिएरै भए पनि व्यावसायिक कुखुरापालन गर्ने योजना बनाए ।


ADVERTISEMENT

# # #


एक वर्षअघि विदेशबाट फर्केर व्यावसायिक रुपमा ब्रोइलर कुखुरा पाल्न शुरु गरे । पाँचसय कुखुराबाट शुरु गरी व्यवसाय थालेका पनेरु आफ्नो आम्दानीको स्रोत अहिले यही नै बनिसकेको बताउँछन् । आफ्नै घरछेउमा करीब दुई हजार कुखुरा अट्ने क्षमताको टहरो निर्माण गरी दैनिक त्यसैको स्याहारसुसारमा उनी व्यस्त रहन्छन् । कुखुरापालन गर्न शुरुमा टहरा र चल्लाका लागि चार लाख रुपैयाँ ऋण खोजेर व्यवसाय थालेका उनले एक समूहकै कुखुरा बेचेर ऋण चुक्ता गरे । करीब ४५ देखि ५० दिनमा कुखुरा बेच्न लायक हुने र एक पटकमा एक लाखदेखि दुई लाख रुपैयाँसम्म आम्दानी गर्न सकिने पनेरु बताउँछन् ।

पनेरु भन्छन् – “पहिला विदेश जानुभन्दा बरु यही व्यवसाय गर्ने आँट त्यतिबेला आएन । शायद, यसरी पहिला नै गर्न सकेको भए मैले विदेशमा थोरै पैसा कमाउनका लागि धेरै कष्ट झेल्नु नपर्ने रहेछ ।” त्यसैले अहिले उनी आफ्नै ठाउँको महत्व र सम्भावना नचिनेर विदेश जान खोज्नेहरुलाई यही सुझाव र सल्लाह दिन्छन् ।

पनेरुको जस्तै अर्थाभावका कारण विदेशमा पसिना र परिश्रम खर्चेर केही आर्जन गर्न नसकेका र स्वदेशमा मेहनत गरेपछि सफल बनेका धेरै युवकहरु नुवाकोटमा अहिले प्रशस्त भेटिन्छन् जो विदेशभन्दा आफ्नै माटोलाई चिन्न सकेमा समृद्ध र उज्यालो भविष्य नेपालमै रहेको सन्देश गर्वका साथ दिइरहेका मात्रै छैनन्, सफल व्यवसाय गरेर त्यसको पुष्टि नै गरिरहेका छन् ।

सफल युवाको सूचीमा म्यागङ गाउँपालिका वडा नं ६ वर्ष ३६ का भद्रसिंह तामाङको पनि नाम आउँछ । सात वर्ष खाडी मुलुकमा बस्दा पनि आफ्नो र परिवारको जीवनमा कुनै परिवर्तन आएको नदेखेपछि उनले गाउँमै फर्केर तीन वर्षदेखि व्यावसायिक तरकारी खेती शुरु गरे । दश हजार रुपैयाँको लगानीमा एउटा टनेलबाट गोलभेँडा लगायतका तरकारी उत्पादन गर्न शुरु गरेका उनले अहिले ५ रोपनी क्षेत्रफलमा करीब १० वटा टनेल बनाएर आफ्नो खेतीलाई विस्तार गर्न सफल भएका छन् । “विदेशमा तीन/चार महिनामा कमाउने पैसा अहिले म यहीँ गाउँमै कमाउन सक्षम बनिसकेको छ,” विदेशमा पैसा कमाउनका लागि जान मरिहत्ते गर्ने अहिलेका युवालाई प्रेरणा दिँदै उनले भने – “त्यहाँ गएर अर्काको देशमा बगाउने पसिना यहीँ आफ्नै माटोमा सिँचित गर्ने हो भने कहीँ जानुपदैन कमाउनका लागि ।” परिवारसँगै बसेर काम गर्न पाउँदा उनीज्यादै प्रफुल्ल छन् । एउटा टनेलमा गरेको तरकारी खेतीबाट मात्रै उनले ५० हजार रुपैयाँसम्मको तरकारी उत्पादन गर्न सक्षम भएका छन् ।

भद्रसिंहको जस्तै म्यागङ गाउँपालिका–६ सामरीकै पल्छिरिङ तामाङ पनि दुःख र कष्टको वैदेशिक रोजगारीको नियति भोगेर आफ्नै माटोमा मेहनत पछि सफल व्यवसायीको रुपमा दरिएका युवा हुन् । वैदेशिक रोजगारीका लागि चार वर्ष मलेशियामा मजदूरी गरेर पनि सन्तुष्ट बन्न नसकेपछि स्वदेश फर्किएर विगत ३ वर्षदेखि उनी गाउँमै कुखुरापालन गरी उदाहरणीय व्यावसायिक युवा बनेका छन् । पाँच सय ब्रोइलर कुखुराबाट व्यवसाय शुरु गरेका पल्छिरिङले कुखुरा मात्रै नभएर अण्डासमेत उत्पादन गर्ने र दोहोर आम्दानी लिने योजनाकासाथ आफ्नो व्यवसायलाई फराकिलो बनाएका छन् । अहिले दुई हजारसम्म लेस जातको कुखुरा पालेका छन् उनले । “विदेश गएर धेरै पैसा कमाइन्छ भनेर गएँ तर, मेहनत मात्रै खेर गयो,” उनले वैदेशिक रोजगारीमा बेहोरेको दुःख र अहिले गाउँमै व्यवसाय गरेपछिको सफलताको तुलना गर्दै भने – “मोती त हाम्रो स्वदेशी माटोमा रहेछ । दुःख त आखिर जहाँ गए पनि गर्नैपर्छ तर, विदेशको नारकीय जीवनभन्दा यहाँ आफ्नै ठाउँ स्वर्ग रहेछ ।’

सीमित लगानीबाट शुरु गरेको पल्छिरिङको व्यवसायमा अहिले ११ लाख रुपैयाँसम्मको लगानी थपिइसकिएको छ । कुखुराबाहेक अण्डा बिक्रीबाट मात्रै उनले एकदेखि डेढ लाख रुपैयाँ आम्दानी गर्छन्। -जमुना गजुरेल/रासस