चितवन– विश्वकै दुर्लभ वन्यजन्तु एकसिङ्गे गैँडा नारायणीमा डुङ्गा शयर गरेर आफ्नो घर भित्रिएको छ। गत वर्ष राप्ती नदीमा आएको बाढीले बगाएर भारत पुर्‍याएको करिब १५/२० वर्षको पोथी गैँडालाई गए राति चितवन राष्ट्रिय निकुञ्जमा ल्याइएको हो।


ADVERTISEMENT


यसअघि बाढीले बगाएका १० गैँडालाई राष्ट्रिय प्रकृति संरक्षण कोष र चितवन निकुञ्जको संयुक्त टोलीले उद्धार गरेर घर फर्काएको थियो। केही गैँडा भारतको तल्लोभागमा पुगेकाले उद्धार गर्न सकिएको थिएन। यसपालि एउटा गैँडा नेपाली भूमिमा आएपछि भने उद्धार गर्न सफल भएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालले बताए। अझै दुई गैँडा भारतमा रहेको निकुञ्जको भनाइ छ।


ADVERTISEMENT

# # #


उद्धार गरिएको उक्त गैँडालाई राति करीब ११ बजे चितवन निकुञ्जको तमोरताल नजिकै ल्याएर छाडिएको छ। राष्ट्रिय प्रकृति संरक्षण कोष र चितवन निकुञ्जका वन्यजन्तु प्राविधिक तथा पशु चिकित्सकसहित ३० भन्दा बढी संरक्षणकर्मी उद्धारमा खटिएका थिए। उद्धारमा तीन हात्तीको प्रयोग गरिएको थियो ।

सुस्तावासीले गैँडा उद्धारमा ठूलो सहयोग गरेको राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख रामकुमार अर्याल बताए। शनिबार सुस्ताको उखुबारीमा आइपुगेको गैँडालाई स्थानीयवासीले ट्याक्टर तेर्स्याई रातभर जाग्राम बसेर छेकेका थिए। आइतबार वन्यजन्तु प्राविधिक टोलीले गैँडालाई डार्ट गरेर (बन्दुकबाट औषधि पठाई लठ्याएर) नियन्त्रणमा लिइएको थियो। ‘रातभर जाग्राम बसेर सुस्तावासीले गैँडालाई रेखदेख गर्नुभयो, यो प्रशंसनीय कार्य हो,’ अर्यालले भने।

आइतबार दिउँसो २ः५० बजे उद्धार भएको गैँडालाई साँझ ठूलो डुङ्गामार्फत नारायणी तारेर नवलपरासीको त्रिवेणी ल्याइएको थियो। त्यसपछि ट्रकमा राखेर राति नै चितवन ल्याइएको हो। यसरी बाढीले बगाएका गैँडालाई डुङ्गामा तारेर ल्याइएको यो दोस्रो हो। झण्डै दुई हजार किलोको गैँडालाई डुङ्गामा तार्नु जोखिम भए पनि स्थानीयवासीको सहयोग र माझीको कुशलताले सफल भएको निकुञ्जले जनाएको छ।

उद्धारमा भारतीयको असहयोग

उक्त गैँडा १५र२० दिनअघिदेखि नै भारतीय भूमिमा देखिन थालेको थियो। भारतीय क्षेत्रमा भएकाले गैँडा उद्धारका लागि भारतले अनुमति दिएको थिएन। विगतमा सहज रूपमा गैँडा उद्धारमा सहयोग गरेको भारतको वाल्मिकी टाइगर रिजर्बले यसपालि भने सहयोग नगरेको गुनासो उद्धारमा खटिएका संरक्षणकर्मीको छ। रासस