काठमाडौं – निर्मला पन्तको घटना अनुसन्धानमा संलग्न प्रहरी कर्मचारीहरुको भूमिका उपर छानबिन गर्न गठित एआईजीपी धीरु बस्न्यात नेतृत्वको समितीले आफ्नो प्रतिवेदन आज आईजीपी सर्वेन्द्र खनाललाई बुझाएको छ ।


ADVERTISEMENT


१३ अनुसूचिमा समेटिएको प्रतिवेदनले घटनाका अपराधीलाई उन्मुक्ति दिन गलत प्रमाण र गलत व्यक्तिहरु खडा गर्ने प्रयास भएको खुलासा गरेको छ । प्रतिवेदनले छानबिनमा संलग्न प्रहरी अधिकारीहरुलाई नै सत्य तथ्य बाहिर नल्याउन भन्दै टेलिफोन मार्फत चुनौति दिएका विषयहरु समेत उल्लेख छन् ।


ADVERTISEMENT

# # #


टेलिफोनबाट धम्की दिने व्यक्तिले छानबिन समितिमा रहेका दुईजना सदस्यको नाम लिँदै उनीहरु ‘आफ्ना मान्छे हुन्’ भनेको अडियो टेपसमेत प्रतिवेदनमा समेटिएको छ ।
छानबिन समितीमा रहेका ११ जना प्रहरी अधिकारीहरुमध्ये नेपाल प्रहरीका प्रवक्ता समेत रहेका एसएसपी उत्तम सुवेदी र एसपी डा. गणेश रेग्मीले प्रतिवेदनमा हस्ताक्षर गरेका छैनन् ।

निर्मलाको हत्या भएको २४ दिनपछि घटनास्थलमा लुगाको टुक्रा नक्कली प्रमाणका रुपमा राखिएको, कन्चनपुरका तत्कालीन डीएसपी अंगुर जिसीले पोलीग्राफी टेस्ट गर्न नमानेको लगायतका तथ्यहरु बाहिर ल्याईएको छ । छानबिनका क्रममा ३६ जनालाई नियन्त्रणमा लिएर बयान लिईएको थियो । तीमध्ये ८ जनाले ‘पोलीग्राफी टेस्ट’मा झुटो बोलेको प्रतिवेदनमा उल्लेख छ ।

एआइजी बस्न्यात नेतृत्वको छानबिन टोलीमा गणेश रेग्मी, उत्तम सुवेदी, निरजबहादुर शाही, रमेश थापा, सन्तोष आचार्य, ज्ञानेन्द्रबहादुर बस्नेत, दधिराम न्यौपाने, कौशलकुमार बुढाथोकी, दीपककुमार कार्की र सुमन थापा रहेका छन् ।

निर्मला हत्या प्रकरणको छानबिन प्रभावकारी नभएको भन्दै यस अघिको छानबिन समितीलाई हटाउँदै घटना भएको ५१ दिन पछि गत भदौ ३१ गते एआईजीपी बस्न्यातलाई छानबिन समितीको कमाण्ड दिईएको थियो ।

दोषी पत्ता लगाउन जारी सीआईबीको अनुसन्धानलाई तथ्यको नजिक पुग्न संकेत गरेको प्रतिवेदनको निष्कर्षमा लेखिएको छ ‘‘अनुसन्धानको कलालाई लागु र प्रयोग गर्ने हो भने मरेको लासले मार्ने मानिससम्म पुर्याउँछ ।’’