काठमाडौँ– सङ्घीय संसद्, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आज सिहंदरबारमा बसेको बैठकले खाडी मुलुकमा कार्यरत घरेलु कामदारको पुनः स्वीकृति प्रदान गर्ने सम्बन्धमा सरकारलाई अवधारणासहित पेश हुन निर्देशन दिएको छ ।


ADVERTISEMENT


यसअघिको समितिले २०७३ साल चैत २० गते घरेलु कामदारका रुपमा वैदेशिक रोजगारीमा जान चाहने नेपाली कामदारलाई रोक लगाउन सरकारलाई निर्देशन दिएको थियो । समितिको आजको बैठकमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई समितिका सभापति बिमलप्रसाद श्रीवास्तवले खाडी मुलुकमा कार्यरत घरेलु कामदारको अवस्थाको अवधारणासहित पेश भएपछि समितिले विभिन्न निकायसँग छलफल गरी आगामी बाटो तय गर्ने जानकारी दिए ।


ADVERTISEMENT

# # #


सरकारका तर्फबाट मन्त्री गोकर्ण विष्टले विगतका सरकारको बेथितिको विरासत वर्तमान सरकाले लिन नसक्ने बताउँदै हाल देखिएको समस्या निराकरणको बाटो खोलिदिन समितिलाई आग्रह गरेका थिए । उनले सरकारको अतिरिक्त भनाइ नरहेको र घरेलु कामदारको समस्यालाई समाधान गर्न समितिले तत्काल गाँठो फुकाउनुपर्ने जानकारी दिए ।

यसअघि मन्त्रालयले समितिलाई घरेलु कामदारको समस्याको गाँठो वैधानिक रुपमा फुकाइदिन आग्रह गरेअनुसार समितिले आज सो बैठक डाकेको हो । घरेलु कामदारलाई खाडी मुलुक जान रोक लागेपछि कतिपय कामदार रोजगारदाताले बिदा दिए पनि स्वदेश फर्कन नपनाउने र स्वदेश फर्केका अवस्थामा आफ्नो काममा फर्कन नपाउने अवस्थाको सिर्जना भएको छ ।

हाल विश्वका १७२ देशमा झण्डै एक लाखभन्दा बढी मानिस घरेलु कामदारका रुपमा छन् । सबैभन्दा धेरै मलेसियामा छ हजारको सङ्ख्यामा छन् । सरकारले समितिको निर्देशनलाई दुई वर्षदेखि पालना गर्दै आएको छ । नेपाल सरकारले वैधानिक बाटोबाट घरेलु कामदारलाई वैदेशिक रोजगारमा नपठाए पनि अवैधानिक बाटोबाट घरेलु कामदारका रुपमा जाने नेपालीको सङ्ख्या भने घटेको छैन ।

वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले विदेशमा मृत्यु तथा अङ्गभङ्ग हुने तथा अन्य असुविधा भोगेका विभिन्न प्रकृतिका कामदारलाई नगद सुविधा उपलब्ध गराउँदै आएको छ । हालसम्म मृत्यु भएका ६३०, अङ्गभङ्ग भएका २६० र क्यान्सर पीडित ३३ व्यक्तिलाई सो प्रकृतिको सुविधा उपलब्ध गराइएको मन्त्रालयका सचिव महेशप्रसाद दाहालले जानकारी दिए ।

बैठकमा भाग लिँदै समितिका सदस्य एलपी सावालिम्बू, गोपालबहादुर बम, प्रकाश रसाइली, प्रमोदकुमारी यादव, सरिता न्यौपानेलगायतले स्वदेशमा रोजगारीको अवस्था दयनीय भएका कारण प्रक्रिया पुर्याएर घरेलु कामदारलाई वैदेशिक रोजगारमा पठाउनु उपयुक्त हुने धारण राखेका थिए।