रामचन्द्र पाण्डे, काठामाडौँ– विवेकशील साझापार्टीका नेता रवीन्द्र मिश्रले सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता समेत रहेका नारायणकाजी श्रेष्ठ खराब घरमा बसिरहेको भन्दै व्यङ्ग्यात्मक टिप्पणी गरेका छन् ।


ADVERTISEMENT


पोखरामा मंगलबार नेपाल साहित्य सम्मेलनमा ‘अबको नेतृत्व : कसको, कस्तो ?’ शीर्षकमा नारायणकाजी श्रेष्ठ र गगन थापासंग बहस गर्दै उनले श्रेष्ठ राम्रो नेता भएपनि उनको पार्टी खराब रहेको बताएका हुन् । मिश्रले भने, ‘उहाँका कुरा सुन्दा असल मान्छे खराब घरमा बसिराख्नु भएको जस्तो लाग्यो मलाई ।’ यस्तै उनले कांग्रेस नेता गगन थापालाई समेत साझामा आउन घुमाउरो निमन्त्रणा गरे ।


ADVERTISEMENT

# # #


‘मैँले गगन थापालाई भन्ने गर्थेँ, गगन जी तपाई फेरि मन्त्री हुनसक्नुहुन्छ । उपप्रधानमन्त्री हुनसक्नुहुन्छ । प्रधानमन्त्री हुन सक्नुहुन्छ । तपाईलाई पद पाउने इच्छा छ भने अहिले कै पार्टीमा बस्नुस् । जे गरिरहनु भएको छ त्यही गर्दा पनि तपाईँले पद पाउनु हुन्छ । तर, तपाईका साना छोरीहरु छन् । ती छोरीहरुको लागि देश बदल्ने इच्छा छ भने अब पार्टी भनेको साध्य मात्रै हो साधान होइन भन्ने साचौँ । आउनुस् हामी सबै सुमन भएकाहरु एक ठाउँमा बसौँ । यो देश १५ देखि २० वर्षमा रुपान्तरण हुन्छ । नत्र आफ्नै छोराछोरीहरुमाथि पाप हुन्छ भन्ने गरेको थिएँ ।’ मिश्रले भने, ‘ त्यो कुरा म दोहोर्याउन चाहन्छु ।’

मिश्रले नेकपा र कांग्रेसजस्त पार्टीमा भएको संरचनागत समस्याले गर्दा जस्तोसुकै नेता नेतृत्वमा गएपनि काम गर्न नसक्ने बताए । पार्टीको नेतृत्व संरचना खराब भएको भन्दै उनले दाप खराब भएकाले पाइन हालेको खुकुरी हाल्दा खिया नै खिया परेर निस्किने स्थिति जस्तो बनेको बताए । मन्त्रीले झठो बोलेर राज्यको पैसा खाएको समाचारप्रति टिप्पणी गर्दै नेता श्रेष्ठ र थापालाई उनले भने, ‘तपाईका नेताहरुलाई गएर झुटो पेट्रोल पिएर धनी नबन्नुस्, घरभाडाको पैसा नखानुस् भनेर भनेर भन्नुस् । तपाईहरुले यति नै गरेपनि यो देश रुपान्तरण हुन्छ ।’

यस्तै उनले दलीय संगठन खोलेर संसारका कुनैपनि देशले प्रगती गर्न नसक्ने भन्दै राजनीतिलाई स्कुल कलेज र सरकारी कार्यालयबाट बाहिर ल्याउन पर्ने बताए ।

‘एउटा सरकारी कार्यालयमा ६ वटा ट्रेड युनियनको झण्डा झुण्ड्याएर कुनचाही देशले प्रगती गरेको छ ?’ उनले भने, ‘यदि यो देश बनाउने हो भने तपाईहरु आफ्नो नेतृत्वलाई गएर भन्नुस् “अब हामीलाई दलीय पेशागत संगठन चाहिँदैन । हामीलाई प्राध्यापक, वकिललाइ, इञ्जिनियरलाई राजनीति गराउनु छैन भनेर भन्नुस्”

राजनीति मेरा लागि मुक्तियात्रा हो : नारायणकाजी

पार्टीभित्र योग्य व्यक्तिले नेतृत्व गर्न पाउने अवस्था नरेहेको प्रश्नप्रति नेकपाका प्रवक्ता नाराणकाजी श्रेष्ठले नेतृत्वको प्रश्नलाई यान्त्रिक ढंगले हेरेर वा आफू कहिले नेतृत्वमा पुगिन्छ भनेर सोचेर हुने कुरा नभएको बताए । उनले भने, ‘देशको आवश्यकता र आकस्मिकताको संयोग हो नेतृत्व । यो कुरा बुझ्नुपर्छ ।’ यद्दपी उनले अहिले कस्तो नेतृत्वको आवश्यकता छ भन्ने बारेमा पार्टीहरुमा, नागरिक समाजहरुमा बहस गनुपर्ने विषय रहेको उल्लेख गरे ।

राजनीतिलाई सत्ता र पद प्राप्त गर्ने, शासन गर्ने माध्याम मात्र बुझ्न नहुने उनको तर्क थियो । ‘मेरो जीवनलाई एउटा मुक्तियात्राका रुपमा बुझेको छु । त्यो मुक्ति यात्राको अभिन्न पक्ष राजनीति हो । त्यसैले म राजनीतिमा छु । त्यस कारण म कहिले नेतृत्वमा पुग्छु भन्ने कुरालाई केन्द्रबिन्दुमा राख्दिनँ ।’ नेता श्रेष्ठले भने ।

आयस्रोतको बाटो नभएका वा पैतृक सम्पती नभएका तर बिलासी जीवन बिताइरहेका कार्यकर्ताहरु राज्यको वरिपरी रहँदासम्म समृद्धिको लक्ष्य हासिल गर्न नसक्ने भन्दै उनले सबै पार्टीभित्र एउटा रुपान्तरणको शुद्धिकरणको आवश्यकता रहेको बताए । उनले शिक्षा, स्वास्थ्य, अस्पताल तथा विश्वविद्यालयमा भएको पार्टीकरण र भागबण्डालाई अन्त्य गर्नुपर्ने रवीन्द्र मिश्रको कुरामा सहमती जनाए ।

उनले डा. गोविन्द केसीले उठाएका मुद्दालाई सम्बोधन गर्नुपर्छ भनेर पार्टीभित्र आफूले कुरा उठाएले उनीसंग सम्झौता भएको र अहिले कानुन बनाउने प्रक्रियामा रहेको बताए ।

धकेलेरै भए पनि पार्टी नेतृत्वमा बसिन्छ : गगन थापा

कांग्रेस नेता गगन थापाले पार्टीका युवा नेताहरु नेतृत्वमा पुग्ने कुरा असम्भव नभएको बताएका छन् । नेतृत्व हस्तक्षप गर्ने कुरा अघिल्लो महाधिवेशनबाटै सुरु गरिसकेको भन्दै उनले अब नेतृत्वमा धकेरलै भएपनि पुग्ने अवस्थामा रहेको उल्लेख गरे ।

‘बेला भएको छैन भाइ ढोका बाहिरै बस्” भनेर हामी ढोका बाहिरै बसिरहेको अवस्था हो । यो पटक भित्रै छिर्ने हो । छिर्न राम्रोसंग दिनुभएन भने गेट तोडेर छिर्ने हो । कुर्ची छोडिदिनुस् भनेर आग्रह गर्ने हो । नभए धकेलेर भएपनि बस्ने हो भन्ने छ । तर त्यहाँ बसिसकेपछि के गर्ने भन्ने कुराका लागि मेरो पुस्ता तयार भएको छ कि छैन ? यो महत्वपूर्ण प्रश्न हो’ उनले भने ।

नेता गगन थापाले पार्टी खुला सदस्यतामा गएर लाखौँ सदस्यमार्फत कांग्रेसको सभापति चुनिने परिपार्टी नहुने बेलासम्म पार्टी भित्र सानो समूह बनाएर त्यसको बन्धक बन्ने अवस्था रहने बताए ।

उनले पुराना राजा फालिसकिएकाले नयाँ पार्टीहरू नयाँ राजाको खोजीमा लागेको आरोप लगाए । “हामी सबै नयाँ राजाको खोजीमा छौँ,” उनले भने, “६ महिना अघिसम्म हामीसँग उज्यालै-उज्यालो थियो । कम्युनिस्टले जिते उज्यालो हुन्छ भन्ने विश्वास थियो । अहिले पोखरा आउँदा अँध्यारै–अँध्यारो छ । ६ महिनामै उज्यालो र अँध्यारो हुन्छ त ? व्यक्तिमा ज्यादा भर पर्दा यस्तो हुन्छ ।”