काठमाडौँ– स्थानीय तह दोस्रो चरणको निर्वाचन अन्तर्गत तीन प्रदेशमा भइरहेको निर्वाचनमा ५३ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ ।


ADVERTISEMENT


दिउँसो २ बजेसम्मको परिणाम अनुसार प्रदेश नं. १,५ र ७ का ३५ जिल्लाका ३३४ स्थानीय तहमा ५३ प्रतिशत मत खसेको हो ।  छिटपुट घटना भएपनि निर्वाचन शान्तिपूर्ण र उत्साहपूर्ण भइरहेको निर्वाचन आयोगले जनाएको छ ।


ADVERTISEMENT

# # #


निर्वाचन आयोगको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी) मा प्राप्त विवरणअनुसार उदयपुर र डडेल्धुरामा ६५ प्रतिशत मतदान भएको प्रवक्ता सूर्यप्रसाद शर्माले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ । सोलुखुम्बु, खोटाङ, भोजपुरलगायत १२ जिल्लामा ६० प्रतिशतभन्दा बढी मतदान भइसकेको छ ।

दोस्रो चरणको निर्वाचनका लागि ६२ हजार ४०८ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । निर्वाचनमा ४१ उम्मेदवार निर्विरोध निर्वाचित भइसकेका छन् । बिहान ७ बजेदेखि सुरु भएको दोस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि निर्धारण गरिएको आठ हजार ३६४ मतदान केन्द्रमा गई मतदाताले अपराह्न ५ बजेसम्म मतदान गर्नसक्ने आयोगले व्यवस्था मिलाएको छ ।

निर्वाचनमा ६४ लाख ३२ हजार ७६५ मतदाताले मतदानमा सहभागी भई १५ हजार ३८ प्रतिनिधि निर्वाचित गर्नेछन् । यसका लागि देशभर चार हजार ५८१ मतदानस्थलमा आठ हजार ३६४ मतदान केन्द्र निर्धारण गरिएको छ । मतदानमा सुरक्षाकर्मीबाहेक ६६ हजार ९०० कर्मचारी खटिएका छन् ।

कुनै कारणवशः मतदाता परिचयपत्र प्राप्त गर्न नसकेमा वा प्राप्त गरेका परिचयपत्र हराएमा, नष्ट भएमा, नेपाली नागरिकताको प्रमाणपत्र, राहदानी, सवारीचालक अनुमतिपत्र, जग्गाधनी प्रमाणपत्र, सरकारी निकायबाट तस्बिरसहित जारी भएको अन्य परिचयपत्रसमेतका आधारमा मतदान गर्न पाउने व्यवस्था गरिएको छ ।