पोखरा– नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले औचित्य नभएका संविधान संशोधनका विषयमा एमालेले कदापि सहयोग नगर्ने बर्ताएका छन्।


ADVERTISEMENT


प्रेस चौतारी नेपाल कास्कीले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा महासचिव पोखरेलले सरकारबाट संविधान संशोधनका लागि ल्याइएका प्रदेश नं २ मा स्थानीय तहको सङ्ख्या बढाउने, अङ्गीकृत नागरिकता र भाषाजस्ता विषयको संशोधनमा एमालेले साथ नदिने दृढता व्यक्त गरे ।


ADVERTISEMENT

# # #


संविधान गतिशील संशोधनको दस्तावेज भएको उल्लेख गर्दै उनले औचित्यपूर्ण संशोधनका विषयमा राष्ट्रिय जनता पार्टी नेपाललगायत सबै राजनैतिक दलसँग छलफल गर्न आफ्नो पार्टी तयार रहेको धारणा राखे ।

सत्ता पक्षले स्थानीय तहको निर्वाचन टार्ने र सार्ने षडयन्त्र गरेपनि पहिलो र दोस्रो चरणको निर्वाचन सौहाद्र्रपूर्ण वातावरणमा सम्पन्न भएकोमा आम मतदातालाई धन्यवाद दिँदै उनले आगामी माघ ७ गतेभित्र तीनै तहको निर्वाचन हुन नसके अहिलेको संसद् नरहने र संविधान कार्यान्वयन पनि नहुने भएकाले तोकिएकै मितिमा सबै निर्वाचन गर्नेतर्फ सरकारको ध्यानाकर्षण गराए ।

महासचिव पोखरेलले दोस्रो चरणको निर्वाचनमा पनि एमालेले पहिलोको भन्दा राम्रो मतपरिणाम ल्याउने दाबी गरे ।

प्रेस चौतारी नेपाल कास्कीका अध्यक्ष माधव बरालको अध्यक्षतामा भएको सो कार्यक्रममा कोषाध्यक्ष राजाराम पौडेलले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।