सिन्धुपाल्चोक । मेलम्ची नगरपालिकाको गुफाडाँडामा ‘राष्ट्रिय जलवायू सम्मेलन २०७५’ आजबाट सुरु हुँदैछ । ७७ ओटै जिल्लाका जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख तथा विषय विज्ञहरुले सम्मेलनमा छलफल गर्ने जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका अध्यक्ष कृष्णगोपाल तामाङले जानकारी दिए । सम्मेलनको सोमबार बिहान ११ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । सम्मेलन दुई दिनसम्म चल्नेछ ।


ADVERTISEMENT


सामुद्री सतहबाट करिब २५ सय मिटरको उचाइमा रहेको गुफाडाँडामा हुन गइरहेको सम्मेलनका लागि सबै तयारी भइसकेको सम्मेलन संयोजक एवम् सिन्धुपाल्चोक जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङले जानकारी दिएका छन् । स्थानीय, प्रदेश र केन्द्रमा जननिर्वाचित सरकार बनेपछि सबै तहले जलवायु परिवर्तनबाट बच्न अनुकूलनको योजना बनाउने तयारी गरिरहँदा सम्मेलन आयोजना गरिएको उनले बताए।


ADVERTISEMENT

# # #


विश्वको जल्दोबल्दो समस्या बन्दै गरेको जलवायु परिवर्तनको मुद्धा सिन्धुपाल्चोकबाट शसक्त ढंगबाट उठान हुने उनले विश्वास व्यक्त गरेका छन् ।

जलवायु अनुकूलन तथा न्यूनीकरणको उपायहरूको पहिचान, कार्यक्रम तर्जुमा तथा कार्यान्वयनले स्थानीयस्तरमा प्राथमिकता नपाएका कारण क्षेत्रगत तथा विषयगत सूचना उपलब्ध गराउने संयन्त्र बनाउन सम्मेलनमा जोड दिइनेछ ।

‘जिल्लाका नदीनालामा बन्ने आयोजनाबाट जलवायु परिवर्तनमा पर्ने असर न्यूनीकरण र असर वापतको स्थानीयतहमा शुल्क व्यवस्थापनका विषयमा पनि सम्मेलनमा छलफल हुनेछ’ संयोजक तामाङले भने। सम्मेलनपछि सुन्दर हिमाली क्षेत्र गुफाडाँडा र आसपासका गाउँमा पर्यटक आगमनमा पनि वृद्धि हुने आयोजकको विश्वास छ ।

सम्मेलन हुने गुफाडाँडालाई यतिखेर दुलही झैं श्रृंगारिएको छ । जलवायु परिवर्तन सम्बन्धीको संचेतनात्क प्रतिमा निर्माण भइसकेको छ भने ७७ वटै जिल्लाको नामाकरण गरिएको पोलमा राष्ट्रिय झण्डा फरफराइ सकेको छ ।

स्थानियहरुले सम्मेलन स्थलको आसपासमा हाटबजारको लागी स्टल राखेका छन् ।