काठमाडौं । आजदेखि अंग्रेजी पात्रो फेरिएको छ । २०१९ मा भित्रिएसँग देशभित्र स्थायित्वको संकेत त देखिएको छ नै, अन्तर्राष्ट्रिय सम्बन्धमा पनि ठूला उपलब्धि हासिल भएका छन्।


ADVERTISEMENT


बितेको वर्ष विश्वको आँखा नेपालमाथि अझ परेको देखिन्छ । यस क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्ने राष्ट्रका रुपमा नेपालको परिचय स्थापित हुँदै छ। यो नेपालको लागि सुखद् हो। तर, त्यो जिम्मेवारी नेपालले थेग्न सकेन भने विश्व राजनीतिको खेलमा नेपाल पिसिनसक्ने जोखिम पनि उत्तिकै छ।


ADVERTISEMENT

# # #


यस वर्ष नयाँ संविधानको जगमा अडिएर निर्वाचन सम्पन्न भयो । त्यसपछि बनेको सरकारले राजनीतिक स्थायित्वको संकेत गरेको छ।

जनताले कम्युनिस्ट पार्टीलाई लोकतान्त्रिक सत्ता सञ्चालनको बागडोर सुम्पेका छन् । विश्वमा कम्युनिस्ट सत्ता हराउँदै गएको भनिएको बेला चुनावबाटै नेपालमा कम्युनिस्ट गठबन्धनको सरकार बन्यो । निर्वाचनमा सहकार्य गरेको नेकपा एमाले र माओवादी अन्ततः एक भए।

वर्षको अन्त्यमा अमेरिकाले परराष्ट्रमन्त्रीलाई निम्त्याएर औपचारिक वार्ता गर्‍यो । दुईपक्षीय कुटनीतिक सम्बन्धको सात दशकमा यो पहिलो पटक अमेरिकाले नेपाललाई यसरी महत्व दिएको हो । यसलाई सरकारले वर्षकै मुख्य सफलताको रुपमा लिएको छ।

अमेरिकाले नेपाललाई दिएको महत्व र यस क्षेत्रमा निर्वाह गर्न भनेको जिम्मेवारी चानचुने नभएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताए । ‘उदाउँदो आर्थिक शक्तिका बीचमा रहेको नेपाललाई अमेरिकाले यस क्षेत्रमा भूमिका खेल्नु भनेको हो,’ उनले भने, ‘हामी अहिले राजनीतिक स्थायित्व र विकासको चरणमा छौं । यसलाई सोचेर, बुझेर अघि बढ्ने बताएँ ।’

अमेरिका मात्र होइन, यो वर्ष नेपालले थुप्रै मुलुकको उच्चस्तरीय भ्रमण गर्‍यो । प्रधानमन्त्रीले भारत र चीनको भ्रमण गरे । राष्ट्रसंघमा सम्बोधन गरे । यसलाई सरकारले उपलब्धीको सूचीमा समेत राखेको छ।

नेपाल छिमेककेन्द्रित कूटनीतिमा अलमलिएको आरोप लागिरहेको थियो । यस्तो बेलामा सरकारले बाहिरी विश्वलाई पनि महत्व दिन थालेको सरकारले बताएको छ।

प्रधानमन्त्री केपी ओलीको भारत र चीन भ्रमणले पनि नेपाल र छिमेकको सम्बन्ध अघि बढेको दाबी सरकारले गर्‍यो । यद्यपि सम्बन्ध पुरानै अवस्थामा छ । प्रबुद्ध व्यक्ति समूहले प्रतिवेदन तयार गरिसक्यो तर भारतले बुझेको छैन । यस्तै चीन र नेपालको नाका पनि अझै राम्ररी सञ्चालन भएको छैन।

यसबाट नेपालप्रति विशाल छिमेकीहरुको व्यवहार अझै स्पष्ट हुन नसकेको देखिन्छ । पूर्वउपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ भन्छन्, ‘हेर्ने शैली फरक भएको होला, तर व्यवहार उही छ । कत्ति पनि परिवर्तन आएको देखिँदैन।’

आर्थिक तथा प्राविधिक सहकार्यको लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलन नेपालले आयोजना गर्‍यो । अगस्टको अन्त्यमा नेपालले बिम्स्टेक सम्मेलन गरेर सकारात्मक कूटनीतिको संचार गर्‍यो । तर, भारतसँग संयुक्त सैन्य अभ्यासमा सहभागी हुने वक्तव्य र पछिको नजाने निर्णयले पनि नेपाल कूटनीतिमा चुकेको महसुस भयो।

२०१८ को अन्त्यमा अमेरिकाले नेपाललाई इन्डो प्यासिफिक रणनीतिअन्तर्गत राखेको विषयले बहसको सुरुवात नै गर्‍यो । त्यही विषयको फलोअपमा जापानका परराष्ट्रमन्त्रीको भ्रमण हुन लागेको आकलन विज्ञहरुले गरेका छन् । भारत भएर आउने जापानी विदेशमन्त्रीले यो विषयमा २०१९ को नेपालको कूटनीतिको रेखा तय गरेर जानेछन्।

नेपालबाहिर यसवर्ष आश्चर्यजनक घटना भए । अमेरिका र उत्तर कोरियाबीचको सिंगापुर शिखरवार्ता भयो । तिनलाई गोर्खा सैनिकले सुरक्षा दिएको विषय समाचारमा छायो ।

दक्षिण एसियाली क्षेत्रीय संगठन (सार्क) भित्र श्रीलंकाको राजनीति, पाकिस्तान, भुटान र माल्दिभ्सको निर्वाचन स्मरणयोग्य रहे । पाकिस्तानमा पूर्व क्रिकेटर इमरान खानको उदय र बंगलादेशको निर्वाचनमा दुई बेगमको भीडन्त पनि चर्चामा रह्यो । अमेरिकाको मध्यावधि निर्वाचनले सदनमा ल्याएको सन्तुलन र फ्रान्समा पहेँला भेस्टधारीको आन्दोलन पनि चर्चामा रहे।

ईयूबाट बाहिरिने बेलायती योजनामा देखिएको अन्योल र राजकुमार ह्यारी र अभिनेत्री मेगन मार्कलको विवाह समाचार शीर्षक बने । विश्वकप फुटबलमा फ्रान्सको विजय, तेलअभिवबाट विवादस्पद जेरुसलेममा दूतावास सार्ने अमेरिकी निर्णय, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको चौथो कार्यकालजस्ता विषयले राजनीति तताए।

टर्कीको इस्तानबुलस्थित साउदी महावाणिज्यदूतावासमा पत्रकार जमाल खसोग्गीको हत्याले आङ जिरिंग बनायो भने एक दशकअघि बीउ रोपिएको ‘मी टू’ आन्दोलनको बाछिटा नेपालसम्म आइपुग्यो।