धरान– विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको मेडिसिन विभागअन्तर्गत रहेका अन्य तीन विभागलाई छुट्टै शुरु गरिएको छ ।
एउटै विभागबाट विभिन्न रोगको विशेषज्ञ सेवा तथा शिक्षा प्रदान गर्न असहज भएपछि मुटु, फोक्सो, पेटसम्बन्धी छुट्टै विभाग बनाइएको प्रतिष्ठानका अस्पताल निर्देशक डा गौरीशङ्कर साहले जानकारी दिए।
इन्टर्नल मेडिसिनलाई अहिले विभाजन गरी मेडिसिन कार्डियोलोजी विभाग, मेडिसिन पल्मोलोजी विभाग, मेडिसिन ग्याष्ट्रोेलोजी विभाग छुट्टै बनाइएको छ । कार्डियोलोजी विभागको प्रमुखमा मुटुरोग विशेषज्ञ प्राडा प्रल्हाद कार्कीलाई जिम्मेवारी दिइएको छ । यस्तै फोक्सो सम्बन्धी विभाग पल्मोलोजीको जिम्मेवारी डा नरेन्द्र भट्टलाई दिइएको छ । पेटसम्बन्धी ग्याष्ट्रोेलोजी विभागको प्रमुखमा डा विक्रम श्रेष्ठ नियुक्त भएका छन्। यसअघि सबै विभागको प्रमुखमा प्राडा सञ्जीवकुमार शर्मा रहेका थिए । उनलाई जनरल मेडिसिनको विभागीय प्रमुखमा यथावत राखिएको अस्पताल निर्देशक साहले जानकारी दिए।
छ महीनाअघि नै कार्यकारिणी समितिमा विशेषज्ञ सेवाका लागि छुट्टै विभाग बनाउने सैद्धान्तिक निर्णय भएको तर जनशक्ति अभावले विभाग छुट्याइएको थिएन । सहज उपचार र शिक्षाका लागि मङ्गलबारदेखि छुट्टै विभाग सञ्चालनमा ल्याइएको प्रतिष्ठानका उपकुलपति प्राडा राजकुमार रौनियारले जानकारी दिए । “एकै स्थानबाट धेरै सेवा दिँदा समस्या थियो, अब भने बिरामीलाई पनि सहज हुनेछ”, उपकुलपति रौनियारले भने ।
प्रतिष्ठानमा बिरामीको चापलाई कम गर्न तथा मेडिकल शिक्षामा सबै विभागबाट सेवा सहजरूपमा उपलब्ध गराउन विभाग थप गरिएको प्रतिष्ठानका उपकुलपति प्राडा रौनियारको भनाइ छ ।
प्रतिष्ठानले चाँडै मुटु र क्यान्सरका बिरामीका लागि विशेषज्ञ सेवा विस्तारका लागि छुट्टै भवन बनाउने तयारी थालेको छ । क्यान्सर रोगको शल्यक्रिया, किमोथेरापी र रेडियसन थेरापी सञ्चालनका लागि अमेरिकास्थित विनय फाउण्डेशनसँग केही दिनअघि सम्झौतासमेत भएको छ । यो सेवा सञ्चालन भएपछि क्यान्सरका बिरामीले भरतपुर र काठमाडौँ जान नपर्ने अस्पतालले जनाएको छ ।