बाँके– नेपालगञ्जका विभिन्न चोकमा राखिएका सिसी क्यामरा बिग्रिन थालेका छन् । नेपालगञ्जका १६ ठाउँमा ५६ सिसी क्यामेरा राखिएकोमा १२ बन्द छन् । ती बिग्रिएका क्यामराको समयमै मर्मत हुनसकेको छैन ।


ADVERTISEMENT


ती क्यामराको निगरानी गरिरहेको जिल्ला प्रहरी कार्यालय बाँकेको सञ्चारफाँटले केही लामो समयदेखि र केही हालसालै बिग्रिएर १२ त्यस्ता क्यामराले काम गर्न छाडेको जनाएको छ । क्यामरा व्यवस्थापन समितिका संयोजक नन्दलाल वैश्यले ठेकेदार कम्पनीले नै बिग्रिएको सिसी क्यामरा मर्मत गर्ने सम्झौता भएअनुसार मर्मत भइरहेको जानकारी दिए । चार महीनासम्म गहन छलफल र सहयोग सङ्कलन गरेपछि नेपालगञ्जका विभिन्न चोकमा सिसी क्यामेरा राखिएको थियो । गत साउन २१ गते सिसी क्यामेराको उद्घाटन गरिएको थियो । चोकमा क्यामरा राख्न तत्कालीन प्रहरी उपरिक्षक टेकबहादुर तामाङले महत्वपूर्ण भूमिका खेलेका थिए भने २५ सदस्यीय सिसी क्यामरा व्यवस्थापन समितिले सबै चाँजोपाँजो मिलाएको थियो ।


ADVERTISEMENT

# # #


संयोजक वैश्यले केही क्यामरा बिग्रिने र तत्कालै बनाउने काम भइरहेको बताए । उनका अनुसार विद्युत् पोलको काम भइरहेको, हावाहुरी र सवारीसाधनले तारमा असर गर्दा केही ठाउँको क्यामरा बिग्रिएका छन् । ठेकेदार कम्पनीलाई एक जना प्राविधिक यही राखिदिन अनुरोध गरिएको छ । नेपालगञ्जमा सिसी क्यामरा जडान गर्न विभिन्न व्यक्ति, उद्योग, फर्मबाट रु ४५ लाख ७६ हजार सङ्कलन गरिएकोमा ५६ वटा जडान गर्दा रु ३३ लाख ९७ हजार २६० खर्च भयो । ती ५६ क्यामराको १४ किलोमिटरमा नेटवर्क बनाइयो भने अन्य ठाउँमा पनि क्यामरा राख्ने तयारी छ ।

भएकै क्यामराको राम्रो व्यवस्थापन गर्न नसकेको व्यवस्थापन समितिका संयोजक वैश्यले भने, “औद्योगिक क्षेत्रलगायतका अन्य ठाउँसहित नेपालगञ्जमा १५० जति क्यामरा जडान गर्ने तयारी छ ।” राँझा, कारकाँदो, पुष्पलाल, धम्बोझी, बिपी, गणेशमान, त्रिभुवन, बसपार्क, अञ्चल अस्पताल, शहीद सेतुविक चोकलगायतका ठाउँमा सिसी क्यामरा जडान गरिएको छ ।

त्यस्तै उज्यालो शहर बनाउन नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रको सुर्खेत रोड र न्यूरोड क्षेत्रमा राखिएका ६७ सौर्य बत्ती बल्दैनन् । दुई वर्षअघि पाइलट प्रोजेक्टका रुपमा राखिएका सौर्य बत्ती बिग्रिएपछि मर्मतमा कसैले चासो देखाएको छैन ।

ठेकेदार कम्पनी र नेपालगञ्ज उपमहानगरपालिका बीच मर्मत कसले गर्ने भन्नेमा निक्यौल नहुँदा बिग्रिएका ती बत्ती बनाउनेतर्फ पहल हुनसकेको छैन । काठमाडौँस्थित सौर्य इनर्जी प्रालिले जडान गरेको ७० बत्तीबारे आफूसँग जानकारी रहेपनि अन्य ८० कसले जडान गरेको भन्नेबारेमा नेपालगञ्ज उपमहानगरपालिका नै बेखबर छ ।

उपमहानगरपालिका योजना शाखाका इञ्जिनीयर सुरजकुमार गुप्ताले भने, “बिग्रिएको सौर्य बत्ती मर्मत गर्नेबारे ठेकेदार कम्पनी सौर्य इनर्जीसँग भएको सम्झौता अस्पष्ट भएकाले समस्या छ ।” इञ्जिनीयर गुप्ताका अनुसार बत्तीको कुनै पाटपुर्जा बिग्रिएमा दुई वर्षसम्म त कुनै तीन वर्षसम्म मर्मत गर्नुपर्ने सम्झौता भएको छ । “सबै सम्झौता मन्त्रालयबाट सोझै भएको हुँदा प्राविधिक कुराबारे हामीलाई जानकारी छैन”, गुप्ताले भने ।

कृषिउपज केन्द्र बन्द

करीब पाँच वर्षअघि केएल दुगड समूहले सञ्चालन गरेको ज्ञान एग्री भण्डारण कृषिउपज केन्द्र बन्द भएको छ । बाँके, बर्दिया र दाङका किसानलाई लक्षित गर्दै २०७१ सालमा ग्लोबल आइएमई बैंकको सहकार्यमा सञ्चालित केन्द्रमा लक्ष्यअनुसार किसानको सहभागिता नहुँदा केन्द्र बन्द भएको हो ।

बैंकको झण्झटिलो प्रक्रिया र ब्याजको कारण किसान उक्त कार्यक्रममा सहभागी हुन नआएपछि एक वर्षदेखि नै कार्यक्रम बन्द भएको छ । ज्ञान एग्री वेयरहाउजिङ एण्ड कोलष्ट्रोल म्यानेज्मेन्ट प्रालिमार्फत स्थापना गरिएको उक्त केन्द्रमा करीब रु १५ करोड बढीको लागत रहेको थियो । केन्द्रको क्षमता तीन हजार ५०० मेट्रिक टन छ ।

रु १५० प्रतिमेट्रिक टन भाडा तिरेर किसानले आफ्ना कृषि उत्पादन उक्त केन्द्रमा भण्डारण गर्न पाउने व्यवस्था गरिएको थियो । किसानले कार्यक्रमभित्र आउन रुचि नदेखाएपछि एक वर्षअघि नै कार्यक्रम बन्द गरिएको केएल दुगड नेपालगञ्जका प्रबन्ध निर्देशक प्रदीप छाजेड बताउँछन्। उक्त भण्डारण केन्द्रको स्थापना पछि किसानको उत्पादन कुहिने, चोरी हुने, आगलागीबाट नष्ट हुने र मूल्य नपाउने समस्या समाप्त हुने विश्वास लिइएको थियो । कृषिउपजको भण्डारण कम्पनी आफैँ बीमासमेत गर्दै आएको थियो । भण्डारण केन्द्रमा कृषकले उपज राखैकै आधारमा ‘वेयर हाउस रसिदमार्फत कर्जा’ समेत पाएका थिए ।

किसानको उत्पादन सुरक्षित रहोस् र बजारमा राम्रो मूल्य पाउन भन्नका लागि प्रयास थालेको भए पनि दीर्घकालीन बन्न नसकेको छाजेड बताउँछन् । यहाँका कृषकबाट कृषि बाली खरीद गरेर करीब ६७ प्रकारका खाद्यान्न उद्योग सञ्चालनमा ल्याएको समेत उनले बताए । भण्डारण गर्ने किसानलाई कृषिसम्बन्धी विभिन्न तालीम प्रदान गरिएको थियो । किसानले भण्डारण गरेको बालीको बजार मूल्यको ७० प्रतिशत बराबरको बैंकबाट कर्जा पाएका थिए । बैंकको प्रक्रिया लामो भएपछि उक्त कार्यक्रममा सहभागी हुन नआएको बाँकेका किसान बताउँछन् । –काशी शर्मा/रासस