खोटाङ– रावाबेंशी गाउँपालिकाको निर्माणाधीन कार्यालय भवन गुणस्तरहीन बनेको भन्दै गाउँपालिका प्रमुख लीलानाथ निरौलाले भत्काएका छन् । तीन महीनाभित्र सम्पन्न गर्नेगरी शुभ एण्ड ध्रुव कन्ट्रक्शन प्रालिले निर्माणको काम थालेको कार्यालय भवन गुणस्तरहीन बन्दै गएपछि सम्पन्न नहुँदै गाउँपालिका प्रमुख निरौलाले कोदालोले खनेर भत्काएका हुन् ।


ADVERTISEMENT


भवन निर्माणका लागि बनाइएको मापदण्ड ख्याल नगरी ठेकेदारले आफूखुशी गुणस्तरहीन भवन बनाएकाले कोदालोले खनेर भत्काइएको प्रमुख निरौलाले बताए । “हामीले भवन निर्माणमा गुणस्तर निर्धारण गर्न र समयमा सम्पन्न गर्न ठेकेदारलाई पटकपटक आग्रह ग¥यौँ ।” उनले भने, “हामीले गरेको आग्रहलाई ठेकेदारले अटेर गर्दै गुणस्तरहीन बनाएपछि सोही खर्चमा पुनःनिर्माण गर्न लगाउन भत्काइएको हो ।”


ADVERTISEMENT

# # #


प्रमुख निरौलाले भवनको भित्री भागको भुइँमा गरिएको ढलान, भवनको गाह्रो, बाहिरपट्टी गरिएको प्लास्टरलगायत भत्काइ दिएको स्थानीयले बताएका छन् । भवन निर्माणमा ठेकेदारले चरम लापरवाही गरेको सर्वत्र गुनासो आएपछि प्रमुख निरौलाले भत्काएर पुनःनिर्माण गर्न आग्रह गरेका छन् ।

भवनको भुइँतलामा ढुङ्गा बिछ्याएर ढलान गर्नुपर्ने सम्झौतामा उल्लेख भए पनि ठेकेदारले माटोमाथि ढलान गरेको पाइएको प्रमुख निरौलाले बताए। भुइँमा बिछ्याइएको ढुङ्गामाथि चार इञ्च ढलान गर्नुपर्नेमा माटोमाथि दुई इञ्चमात्र गरिएको र ढलानको सामग्रीसमेत गुणस्तरहीन भएको पाइएको प्राविधिकले जनाएको छ ।

गाउँपालिका प्रमुखले निर्माणाधीन भवन भत्काएपछि ठेकेदार कम्पनीले पुनःनिर्माणको काम थालेको स्थानीयवासीले बताएका छन् । ठेकेदारले पुनःनिर्माणको काम शुरु गरे पनि उक्त भवन गुणस्तरहीन नै हुने स्रोतको दाबी छ ।

निर्माणाधीन कार्यालय भवन छोटो समयमा सम्पन्न गर्नुपर्ने भएकाले केही कमजोरी भएको निर्माणको काम जिम्मा लिएको कम्पनीका उमेश राईले स्वीकारेका छन् । “हतारमा काम गर्दा केही कमजोरी भएकै हो”, उनले भने, “गाउँपालिकाको खबरदारीपछि पुनःभत्काएर गुणस्तर निर्धारण गर्ने काम भइरहेको छ ।”

निर्माणमा समेत ढिलासुस्ती भएको उक्त कार्यालय भवन निर्माणका लागि दोस्रोपटक थपिएको अवधिसमेत गत मङ्सिर १५ गते सकिएको छ । ठेकेदार कम्पनीले रु ७६ लाखको लागतमा निर्माणको जिम्मा लिएको चार कोठा भएको एकतले भवन अहिलेसम्म पनि सम्पन्न भएको छैन ।

इँटाको गाह्रो लगाएर कोठा छुट्याइने कार्यालय भवनमा आल्मोनियम जडान गरेपछि १४ कोठा हुने जनाइएको छ । प्राविधिक मूल्याङ्कनभन्दा कम लागतमा निर्माण कार्य थालिएको भवनका लागि गाउँपालिकाले रु एक करोड, तीन लाखमा टेण्डर आह्वान गरेको थियो । ठेकेदार कम्पनी शुभ एण्ड ध्रुव कन्ट्रक्शन प्रालिले घटाघटमा उक्त भवन निर्माणको सम्पूर्ण जिम्मा लिएको गाउँपालिकाले जनाएको छ ।

रावाबेँशीसँगै निर्माण कार्य थालिएको दिप्रुङ चुइँचुम्मा गाउँपालिकाको भवन पाँच महीना अघिनै निर्माण सम्पन्न भएर सञ्चालनमा आएको छ । दिप्रुङ चुइँचुम्मा बाहेक जिल्लाका अधिकांश गाउँपालिका अहिलेसम्म भाडाकै भवनमा रहेको छ ।