काठमाडौं । चीनले पहिलोपटक चन्द्रमाको पृथ्वीबाट नदेखिने भागमा रोबोटिक अन्तरिक्ष विमान अवतरण गराएको छ । चिनियाँ सञ्चार माध्यमका अनुसार बिहीवार छाङ ई–४ नाम गरेको विमान चन्द्रमामा सफलतापूर्वक अवतरण गरेको हो ।


ADVERTISEMENT


समाचारमा बताइएअनुसार चिनियाँ अन्तरिक्ष विमानले चन्द्रमाको दक्षिण ध्रुव पोल–एटकेनमा अवतरण गरेको हो । यो विमानले चन्द्रमाको सो क्षेत्रको अध्ययनका लागि केही उपकरण बोकेको छ । साथै, त्यहाँ केही जैविक अनुसन्धान पनि गरिनेछ । चिनियाँ यान यो क्षेत्रमा अवतरण गर्नु अन्तरिक्षबारे अनुसन्धानका लागि निकै महत्त्वपूर्ण हुने बताइएको छ ।


ADVERTISEMENT

# # #


पछिल्ला केही वर्षमा चन्द्रमाका लागि धेरै रकेट पठाइएका थिए । तर, ती रकेटमध्ये अधिकांश चन्द्रमाको कक्षमा पुगेका थिए भने केही नजीकैबाट उडेका थिए । सन् १९७२ मा एपोलो १७ पछि अहिलेसम्म चन्द्रमामा कुनै यान अवतरण भएको थिएन । छाङ ई–४ ले चन्द्रमामा अवतरण गरेसँगै पहिलो फोटो पठाइसकेको छ । यसलाई चिनियाँ सञ्चारमाध्यमले शेयर पनि गरेका छन् ।

यसअघि अन्तरिक्षयानहरूको अवतरण पृथ्वीबाट देखिने भागमा मात्र भएको थियो । तर, पृथ्वीबाट नदेखिने भागमा अवतरण गराइएको यो पहिलोपटक हो । चीनले पहिलोपटक अन्य मुलुकले अहिलेसम्म नगरेको प्रयास गरेको हो । गत डिसेम्बर ७ मा सियान स्याटलाइट सेन्टरबाट प्रक्षेपण गरिएको छाङ ई–४ यान डिसेम्बर १२ मा चन्द्रमाको कक्षमा पुगेको थियो ।

यो विमानमा दुईओटा क्यामेरा प्रयोग गरिएको छ । यसमा ३ किलोग्राम आलु तथा एराबिडोप्सिस झार पठाइएको छ । यसबाट चन्द्रमामा जैविक परीक्षण गर्ने लक्ष्य लिइएको छ । चीनले चन्द्रमाको अध्ययनका लागि अघि सारेको ठूलो अभियान अन्तर्गत यो एक भाग हो । यस अभियानमध्ये पहिलो र दोस्रो यान चन्द्रमाको कक्षको जानकारी संकलनका लागि बनाइएका थिए । तेस्रो र चौथोले सतहको अध्ययन गर्छन् भने पाँचौं र छैटौंले सतहको जानकारी पृथ्वीमा पठाउनेछन् । एजेन्सी