काठमाडौं । आफन्तको एनजिओमा गरिबी निवारणसम्बन्धी कार्यक्रम नपारेको भन्दै प्रदेश २ का आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झालाई कार्यकक्षमै बोलाएर कुटपिट गरेका छन् । कुटपिटबाट उनको गालामा नीलडाम भएको छ ।


ADVERTISEMENT


सचिव झालाई कुटपिट हुँदा प्रदेश सभामुख सरोजकुमार यादव पनि मन्त्रीकै कार्यकक्षमा थिए । उनले नै झालाई थप कुटिनबाट जोगाएका थिए । कुटपिटपछि मन्त्री यादवले झालाई प्रहरीको जिम्मा लगाए । तर, केहीबेरमै प्रहरीले उनलाई छाड्यो ।


ADVERTISEMENT

# # #


मन्त्री यादवले आइतबार दिउँसो फोन गरेर झालाई मन्त्रालयमा बोलाएका थिए । आफुले सिफारिस गरेको एनजिओमा कार्यक्रम नपारेको तथा छनोट गरिएका एनजिओबाट पैसा खाएको भन्दै उनले झालाई हप्काएका थिए । जवाफमा सचिव झाले ‘तपाईंहरू मधेस आन्दोलनबाट आउनुभएको छ, तर सानो–सानो कुरामा दबाब दिनुहुन्छ, यस्तो अवस्थामा म काम गर्न सक्दिनँ’ भनेँ । त्यसको लगत्तै मन्त्री यादवले आफ्नो गालामा झापड हानेको झाले बताए ।

मन्त्रीलाई अपशब्द प्रयोग गर्दै बाहिरिए सचिव झा
मन्त्रीले झापड हानेपछि सचिव झा गाली गर्दै बाहिरिएको भिडियो सार्वजनिक भएको छ । झाले मन्त्रीलाई अपशब्दसमेत प्रयोग गरेका छन् ।

झाले आफ्नो घर जनकपुरमै रहेको भन्दै यादवलाई मन्त्रीपदबाटै हटाउनेसम्मको चेतावनी दिएका छन् । यादव र झाबीच हातहालाहालकै स्थिति आएपछि सभामुखले छुट्याएका थिए ।

मलाई कुट्दै मन्त्रीको कार्यकक्षबाट निकालेः विद्यानाथ झा

दिउँसो करिब अढाई बजे आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवजीले फोन गरेर आफ्नो कार्यकक्षमा बोलाउनुभयो । मैले आफ्ना मन्त्री रामनरेश राय यादवलाई त्यसको जानकारी गराएँ । उहाँले ‘जानुस्’ भनेपछि गएँ । त्यहाँ प्रदेशका सभामुख रामसरोज यादव र मधेस आन्दोलनका सिरहाका घाइते पनि हुनुहुन्थ्यो । सभामुखकै छेउमा बसिरहेको थिएँ । मन्त्रीजी आफ्नो नजिक आएर बस्न भन्नुभयो । बसिरहेको कुर्सी लिएरै मन्त्रीको अगाडि पुगेँ ।

मन्त्रीजीले ‘गरिबी निवारणका लागि उद्यमी कार्यक्रममा आफूले भनेको गैरसरकारी संस्था किन छनोटमा पर्न सकेन ?’ भनेर सोध्नुभयो । मैले सबै प्रक्रियाबारे जानकारी गराएँ । तर, उहाँले ‘ती संस्थासँग पैसा लिएर रिजल्ट निकाल्नुभयो’ भन्नुभयो । मैले ‘मन्त्रीजी केही गल्ती गरेको छैन, गल्ती भए अख्तियारमा जान तयार छु । तपाईंहरू त्यत्रो मधेस आन्दोलनबाट मन्त्री हुनुभएको छ । तर, सानो–सानो काममा दबाब दिनुहुन्छ, यस्तोमा म काम नै गर्न सक्दिनँ, सरुवा गराएर अन्त जान्छु’ भनेँ ।

यति मात्र के भनेको थिएँ, मन्त्रीजीले जोडले मेरो गालामा झापड हान्नुभयो । म अक्क न बक्क भएँ । मैले पनि हानिदिउँ भन्ने लाग्यो । तर, कर्मचारी हुँ, अनुशासनमा बस्नुपर्ने भएकाले चुप लागेँ । उहाँले फेरि कुर्सीबाट उठेर झापड हान्नुभयो । त्यसपछि हातले अनुहार छोपेँ । सभामुखले बचाउनुभयो ।

त्यसपछि पिठ्युँमा कुट्दै मलाई कार्यकक्षबाट निकाल्नुभयो । बाहिर निस्केपछि प्रहरीले उल्टै मलाई जिल्ला प्रहरी कार्यालय लग्यो । जनकपुर अञ्चल अस्पतालमा स्वास्थ्य परीक्षण गराएर छाडियो ।

ममाथि अन्याय भएको छ । मन्त्रीले कुटपिट गरेको सबैले देखेका छन् । उहाँ मन्त्री भएकाले कानुनी कारबाहीबाट बच्न सक्नुहुन्छ । तर, यस क्षेत्रको जनता म पनि हुँ । म आफैँ न्याय गर्छु