काठमाडौं । उपत्यकाको वायु प्रदूषण अत्यधिक बढेको पाइएको छ । एक साताअघि सामान्य वर्षा हुँदा ह्वात्तै घटेको वायु प्रदूषण मंगलबारबाट उच्च हुँदै गएको छ।


ADVERTISEMENT


रत्नपार्कको वायु प्रदूषण मापन यन्त्रले दिएको तथ्यांकअनुसार मंगलबार बिहान २ः४५ मा कणको मात्रा अर्थात् पार्टीकुलेट म्याटर्स (पीएम) २ दशमलव ५ को दरले १४५ पुगेको थियो।


ADVERTISEMENT

# # #


विश्व स्वास्थ्य संगठनले पीएम २ दशमलव ५ को मात्रा १० माइक्रोग्राम क्युबिक मिटर निर्धारण गरे पनि सरकारले राष्ट्रिय मापदण्ड ४० निर्धारण गरेको छ।

‘काठमाडौं उपत्यकाको प्रदूषणको मुख्य कारणका रूपमा सवारी प्रदूषण नै रहेको पाइएको छ,’ वातावरणविद् भूषण तुलाधरले भने, ‘२० प्रतिशत गाडीले ५० प्रतिशत धुवाँ फालिरहेका हुन्छन्, त्यसमा पनि २० प्रतिशतले सबैभन्दा बढी धुवाँ फालिरहेको छ ।’

सन् २००५ मा ट्राफिक प्रहरीको सहायतामा धुवाँ फालिरहेको सवारीसाधनलाई रोकेर परीक्षण गरिएको थियो । त्यो काम रोकिँदा प्रदूषण बढ्दो क्रममा रहेको छ ।

‘सडकमा कुँदिरहेका सवारीसाधनले फालेको धुवाँ हेर्दै थाहा हुन्छ, चेकजाँच नै गरिरहनुपर्दैन,’ उनले भने, ‘यस्ता सवारीसाधनलाई हटाउने तथा थोत्रा सवारीसाधनको मर्मतसम्भार गर्न सकियो भने पनि ५० प्रतिशत सुधार आउँछ र यो गर्न पनि सकिन्छ।’

राष्ट्रिय वायु प्रदूषण रणनीति निर्माण कार्यमा संलग्न विज्ञ डा. भुपेन्द्र देवकोटाका अनुसार उपत्यकाको बढ्दो प्रदूषणले थप समस्या उत्पन्न भएका छन् । ‘काठमाडौं प्राकृतिक रूपले नै संवेदनशील छ र अब मानवीय कारणले यो झन् संवेदनशील बन्न पुगेको छ,’ देवकोटाले भने।

हामीले सास फेर्ने हावामा सामान्य आँखाले देख्न सकिने र नसकिने धुलोका अनेक कण हुन्छन् । तीमध्ये केही हानिकारक र केही असर नगर्ने किसिमका हुन्छन् । हावामा यसरी हानिकारक धुलोका कणको मिसावट भई हुने वायु प्रदूषणबाट काठमाडौं अछुतो छैन । उपत्यकाको दुई स्थानमा गरिएको वायु प्रदूषण मापनले पनि उपत्यकामा अत्यधिक प्रदूषणको मात्रा बढेको पाइएको छ।