चिकित्सा शिक्षा विधेयकलाई लिएर डा. गोविन्द केसी यतिबेला १६ औँ अनसन बसेका छन् । यही विषयमा सत्तारुढ दल नेकपा निकट युवासंघ नेपालकी केन्द्रीय सचिव तथा महिला विभाग प्रमुख अञ्जना अधिकारीसंग हिमालय पोष्टले छोटो कुराकानी गरेको छ:


ADVERTISEMENT


चिकित्सा शिक्षाको सधारका लागि भन्दै १६ औँ अनसन बसिरहनु भएका डा. गोविन्द केसीका बारेमा तपाईं के भन्नुहुन्छ ?


ADVERTISEMENT

# # #


यो एउटा नचाहिदो जिद्दिपना र केटाकेटी पारा हो । डा केसीले अनशनलाई मजाक बनाइरहनु भएको छ । जायज मागहरूलाई सरकारले सम्बोधन गर्दै आउँदा पनि अनावश्यक महत्वकाक्षां राखेर राज्य, सरकार र सदनलाई अटेरी गरी उहाँ आफ्नो बौधिकताको आफै खिल्ली उडाइरहनु भएको छ ।

एउटा सरकारी कर्मचारी भएर पनि सरकारलाई टेर्दिन भन्नुले उहाँ प्राध्यापक डाक्टर भन्दा पनि राजनीतिक दलको एउटा कार्यकर्ता हो कि भन्ने प्रश्न चिन्ह पैदा भएको छ । सरकारको तलब खाएर पटक–पटक सरकार कै विरुद्ध अनशन बस्ने अधिकार उहाँलाई छैन । ओत लागेर बसेको आफ्नै घरलाई तलबाट धमिराले जस्तो घर कमजोर बनाउने अधिकार कसैलाई पनि हुंदैन, चाहे त्यो डा. गोविन्द के.सी. हुन् या अरु कोही । त्यसकारण उहाँको यो अहिलेको अनसन सरासर गलत छ र पुर्वाग्रही छ ।

युवा संघले यसको विषयमा कस्तो योजना बनाएको छ ?

युवा संघ नेपाल “सुखी नेपाली समृद्ध नेपाल” को पक्षमा छ । मुलुकको विकासले तीव्र गति लिनुपर्छ भन्ने धारणा र योजनामा हामी छौँ । जसको निमित्त देशमा रहेका सबै युवाहरू शिक्षित हुनुपर्छ, स्वरोजगार हुनुपर्छ, आफ्नै देशमा रहेर अवसर पाउनु पर्छ, ज्ञान, सीप र प्रविधि हासील गरी मुलुक निर्माणको निमित्त युवाहरूको क्षमता यही देशमा प्रयोगमा आउनुपर्छ भन्ने मान्यता युवा संघको हो । देशको समृद्धि र विकासमा आफ्नो योगदान दिनुपर्ने बेलामा चिकित्सा शिक्षा जस्तो महत्वपूर्ण क्षेत्र, जसबाट प्रशस्त मात्रामा बौद्धिक र राष्ट्रसेवक डाक्टरहरू जमिन्छन् र देशका दुरुदराजमा गएर सेवा दिन्छन् । त्यस्तो क्षेत्रमा अनावश्यक बखेडा खडा गर्नु डा. के.सी.को मुर्खता हो ।

देशको अर्बौँ धनराशी यही शिक्षा हासिल गर्न बाहिरिरहेको छ र संगसंगै विकासका प्रमुख शक्ति युवाहरू पनि यही कारण विदेश पलायन भइरहेका हुन् । उनीहरूलाई आफ्नै देशमा रोक्नु पर्ने यो परिस्थितीमा सबै कुरा बुझेका एक प्राध्यपक डाक्टरले यो क्षेत्रको समोचित विकास र प्रर्वद्धनलाई नै अवरोध पुर्याउन खोज्नु दुर्भाग्यपूर्ण रहेको छ । त्यसकारण अबका दिनमा युवा संघ नेपालले यसो हुन दिँदैन । एकजना व्यक्तिको करण त्यो पनि स्वतन्त्र रही आफ्नो सेवा प्रदान गर्नुपर्ने व्यक्तिका कारण सदन अवरुद्ध हुनुपर्ने, विधेयकलाई अप्ठेरो पर्नुपर्ने यो सम्भव र जायज कुरा होइन । डा. केसी डाक्टर, प्राध्यपक भन्दा पनि आफूलाई राजनीतिक दलको नेताको रुपमा प्रस्तुत गरिराख्नु भएको छ । चिकित्सा क्षेत्रको माध्यमद्वारा देशमा नै केहरुी गर्न खोज्ने युवाहरुलाई उहाँले अबरोध गरिरहनु भएको छ । त्यसकारण उहाँले अनसन तुरुन्त फिर्ता लिनुपर्छ । यदि फिर्ता लिनुभएन भने उहाँको गैरजिम्मेवारपूर्ण प्रवृत्तिविरुद्ध हामी कानुनी ढोका ढक्डकाउने छौँ ।

तर, डा. केसीको अनसनले सरकार घुँडा टेक्नुपर्ने अवस्था सिर्जना हुँदैछ नि !

यो सरकार घुडा टेक्न, शिर झुकाउन, असफल हुन बनेको हैन । यो देशको इतिहासकै अहिलेसम्मको जनप्रिय, लोकतन्त्रिक र विकासप्रेमी सरकार हो । आम तीन करोड नेपालीले विश्वास र भरोसाले बुहमतका साथ संघीय लोकतान्त्रिक गणतन्त्रलाई पूर्ण रुपमा स्थापित गराउदै मुलुकलाई समृद्धिको बाटोमा डोर्याउने महत्वपूर्ण ऐतिहासिक जिम्मेवारी बोकेको युगीन सरकार हो । त्यस कारण यो सरकारलाई असफल हुने अधिकार नै छैन् । गलत र वाइयत मागहरूको निमित्त यो सरकार झुक्छ भन्ने कुरामा मलाई रतिभर पनि विश्वास छैन ।

संसदमा पेश भएको चिकित्सा शिक्षा विधेयक छलफल विषयमा तपाइको के धारणा छ ?

यो पूर्णरुपमा स्वागत योग्य कार्य हो । म र मेरो संगठन चिकित्सा शिक्षा विधेयकमाथि छलफल गरेर पास हुनुपर्छ भन्ने माग राख्न चाहन्छौ । सरकारले पनि यस विधेयकसम्बन्धी जुन कानुन बनाउने कदम चालिरहेको छ, यसप्रति म व्यक्तिगत रुपमा पनि धेरै खुसी छु । डा. गोविन्द केसीले पछिल्लो समय अनसनका मागलाई अन्यन्त्र मोड्न खोज्नु भएको स्पष्ट छ । अहिलेको सरकारलाई असफल बनाउन राजनीतिक रुपमा परिचालित हुनु भएको छ । त्यसकारण अब उहाँको अनसनको पनि कुनै औचित्य छैन् । चिकित्सा शिक्षा अहिले नेपालमा विद्यार्थीहरूको पहिलो र महत्वपूर्ण रोजाई भइरहेको छ । यस्तो अवस्थामा मेडिकल कलेजलाई सरकारी तवरबाट अझै धेरै व्यवस्थित गर्दै एक प्रदेश एक मेडिकल कलेज अनिवार्य रहनु पर्ने देखिन्छ । अब भन्नुहोस्, १० वर्षसम्म मेडिकल कलेज नै खोल्न नहुने तर्क र माग कति जायज छ ?त्यसकारण डा. गोविन्द केसीको अनसनलाई अब कानुनी उपचार गरेर वहाँलाई कानुनी दायरामा ल्याउनु जरुरी देखिन्छ ।

अन्त्यमा, के भन्नु हुन्छ ?

डा. गोविन्द केसी अनसनमा हैन, चाहिदो तरिकाबाट छलफलमा आउनु पर्छ । मुलुकको समृद्धिको बाधक भएर तितो इतिहास बनाउनुको सट्टा अर्थपूर्ण निकास निकालेर मुलुकलाई अग्रगतिमा लैजानु उहाँको पनि कर्तव्य हो । उहाँ एक सरकारी डाक्टर, प्राध्यापक भएको नाताले पनि राज्य विरुद्धको आफ्नो केटाकेटीपन र सुनियोजित षड्यन्त्र छोडेर परिभाषित जिम्मेवारीमा तुरुन्त फर्कन हामी आव्हान गर्छौँ ।